तपाईँ सुन्दै हुनुहुन्छः

हुम्लामा रोचक बन्दै निर्वाचन: तीन दलबीच कडा प्रतिस्पर्धा

हुम्ला। निर्वाचन आउन अब १६ दिन मात्र बाँकी रहँदा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको हुम्लामा पुराना राजनीतिक दलहरू परम्परागत शैलीमै चुनावी अभियानमा सक्रिय देखिएका छन्।

यसअघि जस्तै यस पटक पनि हुम्लामा नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ। तर यस पटक चुनावी मैदानमा युवापुस्ताको उल्लेख्य उपस्थिति र दलहरूबीचको एकल प्रतिस्पर्धाले चुनावलाई थप रोचक बनाएको छ।

अघिल्ला निर्वाचनहरूमा देखिएको चुनावी सहकार्यको परिपाटी तोड्दै दलहरू यस पटक आ–आफ्नै बलमा मैदानमा उत्रिएका छन्। उम्मेदवारहरू उत्साहका साथ घरदैलो अभियानमा जुटे पनि मतदातामा भने अपेक्षित उत्साह देखिएको छैन। अघिल्ला दुई निर्वाचनको तुलनामा यस पटकको प्रतिस्पर्धा अझ कडा र रोचक हुने आकलन गरिएको छ।

सात स्थानीय तह रहेको हुम्लामा विभिन्न दलका उम्मेदवारहरू चुनावी मैदानमा छन्। ताँजाकोट गाउँपालिकाबाट नेकपा (माओवादी)का कुम्भ बुढा, अदानचुलीबाट एमालेका दल फडेरा, सर्केगाडबाट नेकपाका डा. दिपेन्द्र रोकाया, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट जटिल कार्की र राष्ट्रिय प्रजातन्त्र पार्टीका छक्क बुढा उम्मेदवार छन्। सिमकोटबाट काँग्रेसका जयपती रोकाया तथा खाम्नाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका टासी लाजोम उम्मेदवार बनेका छन्।

अघिल्ला निर्वाचनमा देखिएको चुनावी सहकार्यको अभ्यास तोड्दै दलहरू यस पटक आ–आफ्नै बलमा मैदानमा उत्रिएका छन्। उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त रहे पनि मतदातामा अपेक्षित उत्साह भने कम देखिएको छ। अघिल्ला दुई निर्वाचनको तुलनामा यस पटकको प्रतिस्पर्धा अझ कडा हुने विश्लेषण गरिएको छ।

अघिल्लो मत परिणामको प्रभाव
२०७९ सालको समानुपातिक मत परिणामअनुसार हुम्लामा काँग्रेस पहिलो, माओवादी केन्द्र दोस्रो, एमाले तेस्रो र एकीकृत समाजवादी चौथो स्थानमा रहेका थिए। काँग्रेसले ८,१९२ मत, माओवादी केन्द्रले ७,३६३, एमालेले ५,९०७ र एकीकृत समाजवादीले १,०२१ मत प्राप्त गरेका थिए।

प्रत्यक्षतर्फ गठबन्धनका उम्मेदवार छिरिङ दम्डुल लामाले १४,३७१ मतसहित विजय हासिल गरेका थिए भने एमालेका दल रावलले ९,५१६ मत प्राप्त गरेका थिए।

२०४६ पछिका निर्वाचन: बदलिँदो शक्ति सन्तुलन
२०४६ सालमा बहुदलीय व्यवस्था पुन:स्थापनापछि भएका संसदीय निर्वाचनहरूले हुम्ला जिल्लाको राजनीति कुनै एक दलमा सीमित नरहेको स्पष्ट देखाएको छ । २०४८ देखि २०७९ सालसम्मका निर्वाचन परिणाम हेर्दा संयुक्त जनमोर्चा, नेपाली काँग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) तथा स्वतन्त्र उम्मेदवारले पालैपालो जित हासिल गरेका छन् ।

बहुदलपछिको पहिलो आम निर्वाचन २०४८ मा संयुक्त जनमोर्चा नेपाल (हाल एमाले) का छक्कबहादुर लामा ४ हजार ६ सय ९५ मतसहित निर्वाचित भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका चक्रबहादुर शाही ४ हजार ६ सय ८७ मतसहित केवल ८ मतले पराजित भएका थिए । त्यसपछि २०५१ सालको मध्यावधि निर्वाचनमा काँग्रेसका शाही ७ हजार ८ सय ८७ मतसहित विजयी भए । स्वतन्त्र उम्मेदवार अंगबहादुर लामाले ६ हजार ९ सय २० मत प्राप्त गर्दा एमालेका गोरखबहादुर बोगटीले ५ हजार ७ सय १९ मत ल्याएका थिए ।

दुई पटक पराजित भएका बोगटीले २०५६ सालमा ११ हजार ८ सय ७९ मतसहित विजय हासिल गरे । काँग्रेसबाट टिकट नपाएर बागी उम्मेदवार बनेका शाहीले ७ हजार ६ सय ६२ मत प्राप्त गरेका थिए भने राष्ट्रिय जनमोर्चाका सोनाम गुरुङले ९ सय ६२ मत ल्याएका थिए तर बोगटीले जित हासिल गरे पनि माओवादी द्धोन्दका कारण पुरा कार्यकाल संसद् बन्न पाएनन् ।

२०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्र (हाल नेकपा)का कर्णजित बुढाथोकी १३ हजार ३ सय १८ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जीवनबहादुर शाहीले ५ हजार १ सय ९६ मत पाए भने एमालेका बोगटीले ३ हजार २ सय ९० मत प्राप्त गरेका थिए । यस्तै २०७० सालको निर्वाचनमा काँग्रेसका जीवनबहादुर शाही ८ हजार ३ सय ३२ मतसहित विजयी हुँदा एमालेका दल रावलले ४ हजार ९ सय ३९ र माओवादीका छक्कबहादुर लामाले ३ हजार ४ सय ७५ मत प्राप्त गरेका थिए ।

२०७४ सालमा माओवादीबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा ८ हजार ४ सय ९१ मतसहित निर्वाचित भए । काँग्रेसका मङ्गलबहादुर शाही ८ हजार ४ सय ४४ मतसहित ४७ मतले पराजित भएका थिए । त्यस बेला एमाले र माओवादी बीच एकता भई नेकपा बनेको थियो, तर नेकपाका उम्मेदवार छिमिदोर्जे लामालाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार लामाले बाजी मारेका थिए । प्रदेशसभा ‘क’ मा नेकपाका दल रावल ७ हजार १ सय ५८ मतसहित विजयी हुँदा काँग्रेसका ठानबहादुर रोकाया ४ हजार ८ सय ११ मतसहित पराजित भए । प्रदेशसभा ‘ख’ मा काँग्रेसका जीवनबहादुर शाही ४ हजार ५ सय १९ मतसहित विजयी भए भने नेकपाका विजय भण्डारी ३ हजार ९ सय ९५ मतसहित पराजित भए ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काँग्रेस र माओवादी केन्द्रबिच गठबन्धन भएको थियो । गठबन्धनका तर्फबाट माओवादी केन्द्रका छिरिङ दम्डुल लामा (कार्चेन) १४ हजार ३ सय ७१ मतसहित निर्वाचित भए भने एमालेका दल रावल ९ हजार ५ सय १६ मतसहित दोस्रो स्थानमा रहे । प्रदेशसभा ‘क’ मा गठबन्धनका रणसिंह परियार ६ हजार ४ सय ८१ मतसहित विजयी भए भने काँग्रेसबाट बागी उठेका स्वतन्त्र उम्मेदवार मङ्गलबहादुर शाही ४ हजार ६ सय ३० मतसहित प्रमुख प्रतिस्पर्धी बने । भने प्रदेशसभा ‘ख’ मा गठबन्धनका जीवनबहादुर शाही ७ हजार ५६ मतसहित विजयी हुँदा एमालेका छक्कबहादुर लामा २ हजार ९ सय ७९ मतसहित पराजित भए ।

२०४६ पछिका सात निर्वाचनले हुम्लाको राजनीति निरन्तर परिवर्तनशील, प्रतिस्पर्धात्मक र शक्ति सन्तुलनमा आधारित रहेको देखाउँछ ।

यसले हुम्लाका मतदाताले दलभन्दा पनि समय, परिस्थिति र उम्मेदवारको व्यक्तित्वलाई प्राथमिकतामा राख्दै निर्णय गर्ने प्रवृत्ति देखाएको सङ्केत गर्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button