तपाईँ सुन्दै हुनुहुन्छः

एन्फा महिला च्याम्पियनसिप : सङ्कटा क्लब सेमिफाइनलमा

उदयपुर । एन्फा महिला च्याम्पियनसिप २०८२ अन्तर्गत उदयपुर सदरमुकाम गाईघाटस्थित थारुहट रङ्गशालामा मङ्गलवार भएको खेलमा सङ्कटा क्लबले चर्च बोइज युनाइटेड क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

खेलको ३९औँ मिनेटमा सङ्कटा क्लबकी जर्सी नम्बर ९ की शुक्रिया मियाले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । त्यसको चार मिनेटपछि, ४३औँ मिनेटमा चर्च बोइजकी जर्सी नम्बर १० की वर्षा ओलीले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याइन् ।

पहिलो हाफको अन्त्यतिर चर्च बोइजले पेनाल्टीको महत्वपूर्ण अवसर गुमाउँदा पहिलो हाफ १–१ को बराबरीमा रोकिएको थियो ।

दोस्रो हाफमा भने सङ्कटा क्लब पूर्ण रूपमा हावी बन्यो । ७०औँ मिनेटमा विदेशी खेलाडी लुसिया लैला जोसेले गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाइन् । त्यसपछि ७५औँ मिनेटमा पूर्णिमा राईले अर्को गोल थपिन् भने ८३औँ मिनेटमा लुसियाले व्यक्तिगत दोस्रो गोल गर्दै सङ्कटाको जित सुनिश्चित गरिन् ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी पूर्णिमा राई ‘म्यान अफ दि म्याच’ घोषित भइन् ।

यससँगै क्वाटर फाइनलका सबै खेल सम्पन्न भई प्रतियोगिता सेमिफाइनल चरणमा प्रवेश गरेको छ । भोलि हुने पहिलो सेमिफाइनल खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच हुने एन्फा महासचिव किरण राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button