जनकपुरधाममा ‘साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ सुरु
धनुषा । मैथिली विकास कोषको आयोजनामा चार दिवसीय ‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ आजदेखि सुरु भएको छ । रङ्गभूमि मैदानबाट भव्य सांस्कृतिक झाँकीसहित महोत्सवको औपचारिक उद्घाटन गरिएको हो ।

उद्घाटनका अवसरमा निकालिएको शोभा यात्रा रङ्गभूमि मैदानबाट सुरु भई नगर परिक्रमा गर्दै विभिन्न सांस्कृतिक प्रस्तुति र लोक झाँकीसहित सम्पन्न भएको थियो । मैथिली वेशभूषामा सजिएका कलाकार, स्थानीय समुदायका प्रतिनिधि, विद्यार्थी तथा सर्वसाधारणको उल्लेख्य सहभागिताले जनकपुरधामको मुख्य सडक क्षेत्र उत्सवमय बनेको देखिन्थ्यो ।
कोषका अध्यक्ष जीवनाथ चौधरीका अनुसार महोत्सवले जनकपुरधामको बहुआयामिक सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिएको छ । “विभिन्न जातजाति र समुदायका सांस्कृतिक झल्को प्रस्तुत गरी हाम्रो मौलिक पहिचानलाई सशक्त बनाउने प्रयास गरेका छौँ,” उहाँले भन्नुभयो ।
शुक्रवारसम्म सञ्चालन हुने महोत्सवअन्तर्गत साहित्यिक गोष्ठी, कविता वाचन, पुस्तक विमोचन, चित्रकला प्रदर्शनी, नाटक मञ्चन तथा अन्तरक्रिया कार्यक्रमहरू आयोजना गरिने जनाइएको छ । आयोजकका अनुसार कार्यक्रममा स्थानीयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कलाकार, साहित्यकार र रङ्गकर्मीहरूको सहभागिता रहनेछ ।
महोत्सवको पहिलो दिन आयोजित सांस्कृतिक झाँकीमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको सहभागिता रहेको थियो । मैथिली वेशभूषामा सजिएर शोभायात्रामा सहभागी भएका उहाँले महोत्सवको सफलताको कामना गर्दै मैथिली भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा कोषले खेलेको भूमिकाको खुलेर प्रशंसा गर्नुभयो । उहाँले यस्ता कार्यक्रमले सांस्कृतिक एकता र सामाजिक सद्भाव सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभयो ।
आयोजक संस्थाले यस वर्ष आफ्नै भवनमा महोत्सव आयोजना गरेको जनाएको छ । विगत वर्षहरूको अनुभवलाई समेट्दै यस पटक कार्यक्रमलाई अझ व्यवस्थित, फराकिलो र अन्तर्राष्ट्रिय सहभागितामुखी बनाइएको कोषले जनाएको छ । जनकपुरधामको सांस्कृतिक धरोहर, धार्मिक महत्व र ऐतिहासिक पृष्ठभूमिलाई साहित्य र नाट्य माध्यमबाट विश्वसामु प्रस्तुत गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो ।
महोत्सव सफल बनाउन आयोजकले सम्पूर्ण साहित्यप्रेमी, कलाकार, बुद्धिजीवी तथा सर्वसाधारणलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ । जनकपुरधाममा सुरु भएको यो सांस्कृतिक उत्सवले आगामी चार दिन सहरलाई साहित्य, कला र रङ्गमञ्चको सङ्गमस्थल बनाउने विश्वास गरिएको छ ।
रासस








प्रतिक्रिया राख्नुहोस्