तपाईँ सुन्दै हुनुहुन्छः

आश्वासनले थाकेका चौफेरीका मतदाता, चुनावपछि ‘को फर्केर आउला?’

बाँके । भारतसँग सीमा जोडिएको डुडुवा गाउँपालिका–१ कृषि चौफेरी यतिबेला तोरी उखाल्ने र भित्र्याउने काममा व्यस्त छ। खेतबारीमा स्थानीयको चटारो छ, तर मनमा भने प्रतिनिधिसभा निर्वाचनको चर्चा चलिरहेको छ। निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारको घरदैलो र भेटघाट बढेको छ। तर चौफेरीका मतदातामा उत्साहभन्दा बढी निराशा देखिन्छ।

स्थानीय किसान र मजदुरहरू भन्छन्, चुनावअघि नेताहरू बस्ती–बस्ती पुग्छन् र धेरै आश्वासन दिन्छन्। तर जितेपछि फर्केर नआउने अवस्था दोहोरिन्छ। खेतीपाती, ज्यालामजदुरी र पशुपालनबाट जीविका चलाइरहेका उनीहरूका लागि चुनावभन्दा पहिला दैनिक गुजारा ठूलो चिन्ता बनेको छ। फुर्सदमा भने उनीहरूबीच एउटै प्रश्न उठ्छ—“यसपालि कसलाई भोट दिँदा हाम्रो पीडा सुन्छ?”

उम्मेदवारहरूले बाढी नियन्त्रण, राप्ती नदीमा तटबन्ध निर्माण, सडक विस्तार, शिक्षा–स्वास्थ्य सुधार र रोजगारी सिर्जनाजस्ता पुरानै मुद्दा दोहोर्याइरहेका छन्। तर मतदाताको विश्वास भने घट्दै गएको स्थानीय बताउँछन्।

डुडुवा–१ चौफेरीका रामेश यादव भन्छन्, “नयाँ–पुराना सबै दलका उम्मेदवारले समस्या समाधानको आश्वासन दिन्छन्, तर चुनावपछि फर्केर आउने कोही हुँदैन।” उहाँका अनुसार किसानका समस्या, बाढीको जोखिम र रोजगारी अभावले चौफेरीको अवस्था कठिन बनेको छ।

स्थानीय चेतराम पासीको गुनासो झन् कडा छ। “चुनावका बेला सबै गर्छौं भन्छन्, तर गरिबको सुनुवाइ हुँदैन। बाढीपीडितका लागि सुरक्षित आवास छैन,” उहाँले भन्नुभयो। राप्ती नदीको कटान र डुबानले हरेक वर्ष बस्ती त्रसित हुने गरेको उहाँको भनाइ छ।

डुडुवा–२ पाझा चौफेरीका उमेश मौर्यले मलको अभाव र सीमापार निर्भरता समस्या रहेको बताए। “नेपालमा मल नपाउँदा भारतबाट ल्याउँदा समातिन्छ। चुनावमा चिप्ला कुरा गरेर भोट लिन्छन्, पछि कसैले हेर्दैन,” उहाँले भन्नुभयो।

रिता केवट पनि नेताप्रति असन्तुष्ट देखिनुहुन्छ। “भोट माग्दा नहुने काम पनि गर्छु भन्छन्, तर पूरा हुने आशा छैन,” उहाँले बताउनुभयो।

स्थानीयका अनुसार गाउँपालिकाबाटै समस्या समाधानमा पहल नहुँदा प्रदेश र संघीय सांसदप्रति ठूलो अपेक्षा गर्न कठिन छ। सामान्य उपचारका लागि समेत भारत जानुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ।

चुनाव नजिकिँदै जाँदा चौफेरीमा उम्मेदवारको चहलपहल बढेको छ। तर यसपटक मतदाता आश्वासनभन्दा परिणाम खोजिरहेका छन्। उनीहरूको एउटै प्रश्न छ—“यो चुनावपछि को फर्केर आउला?”

प्रतिक्रिया राख्नुहोस्

Back to top button