आश्वासन होइन, सुशासन र रोजगारी चाहन्छन् पर्साका मतदाता
वीरगंज। मतदान गर्न १७ दिन बाँकी रहँदा पर्साका मतदाताहरूले आफ्नो मत कसलाई दिने भन्नेबारेमा धारणा बनाउन सुरु गरेका छन् ।

उम्मेदवारहरूले आआफ्नो पक्षमा मत माग्दै मतदाताहरूको घरदैलोमा पुग्न थालेसँगै पर्साका मतदाताहरूले कुन दल वा उम्मेदवारलाई मत दिने भन्दै आ-आफ्नो धारणा बनाउन थालेका छन् ।
यसपालिको चुनावमा विगतमा झैँ भाषण, आरोप–प्रत्यारोप र आश्वासन बाँड्नेलाई नभई सुशासन, विकास र रोजगारमार्फत भविष्य निर्माणको सङ्कल्प तथा योजना भएका उम्मेदवारलाई मत दिने पर्साका युवा मतदाताहरूले बताएका छन् ।

सहरी क्षेत्रदेखि गाउँसम्मका मतदाताहरूमा काम गर्ने, समाज जोड्ने र विश्वास गर्न लायक तथा नेतृत्व क्षमता भएका उम्मेदवारलाई मत दिने पक्षमा युवाहरू रहेको पर्सा पोखरीयाका युवा मतदाता राजु रौनियारले बताउनुभयो ।
विगतका निर्वाचनहरूमा उम्मेदवारले झूटा आश्वासन र विकासे नारामा मतदातालाई लोभ्याउँदै आएको अवस्थामा यस पटक त्यस्तो प्रलोभनमा नपर्ने रौनियारले बताउनुभयो ।
देशका समस्या समाधान गर्ने स्पष्ट योजना भएको उम्मेदवारलाई यसपालि मत दिने वीरगंज जेलरोड निवासी युवा मतदाता शिवमं पटेलले बताउनुभयो ।

पर्सा ठोरीका मतदाता रामप्रकाश कुँवरले समाजमा विग्रह ल्याउने र गलत कुरा गरेर मत बटुल्ने सोचका विरुद्ध आफूहरूले यस पटक मतदान गर्ने बताउँदै हरेक चुनावमा सपना बाँडिन्छ, तर काम देखिँदैन । यस पटक पनि कतिपयले त्यस्तै गर्न खोजिरहेका छन्, तर आफूहरू सचेत भई समाजलाई भ्रमित बनाउने र झूटा आश्वासन दिने उम्मेदवारलाई मत नदिने दाबी गर्नुभयो ।
पर्सा पटेर्वा सुगौलीका मतदाता देवी प्रसाद दाहालले मधेसमा सबैभन्दा बढी सम्भावना भएर पनि उपेक्षामा परेको कृषि क्षेत्रको विकासको स्पष्ट खाका ल्याउने दल र उम्मेदवारलाई आफूहरूले मतदान गर्ने बताउँदै कृषि, पर्यटन, रोजगारलगायत क्षेत्रमा देखिएका समस्या समाधानको नीति, कार्यक्रम र सोच ल्याउनुको सट्टा नपत्याउने गफ गर्नेलाई पहिचान गरी त्यस्ता उम्मेदवारलाई पाखा लगाउने योजना आफूहरूले बनाएको दाबी गर्नुभयो ।
उहाँले हामीलाई मल, सिँचाइ, सडक र बजार चाहिएको छ भन्नु हुँदै जात र दलको कुरा गरेर समाज भाँड्ने राजनीति अब स्वीकार्य छैन । यस्तो प्रवृत्तिका उम्मेदवारलाई यस पटक आफूहरूले मतदान मार्फत ठेगान लगाउने बताउनुभयो ।
पर्सा जिल्लाका चार वटा निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १०७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । उनीहरू अहिले जनताको घरदैलोमा विभिन्न चुनावी नारासहित पुग्ने क्रम तीव्र रूपमा चलेसँगै मतदाताहरूले समेत कसलाई मतदान गर्ने भन्ने सम्बन्धमा धारणा बनाइरहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्