बैतडीमा टोल टोलमै गएर नसर्ने रोगको परीक्षण गरिँदै

बैतडी । जिल्लामा नसर्ने रोगका जोखिम उच्च भएपछि परीक्षणलाई तीव्र बनाउन थालिएको छ । स्वास्थ्यकर्मीहरू टोल टोलमै परीक्षण थालिएको हो । जिल्लाका सबै पालिकाहरूले टोलटोलमा पुगेर नसर्ने रोगको परीक्षण गरिरहेका हुन् ।
सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले नसर्ने रोगको पहिचानका लागि एक महिने अभियानअन्तर्गत गाउँपालिकाले टोल टोलमै स्वास्थ्यकर्मी खटाएको जानकारी दिनुभयो ।
गाउँपालिकाभरिका आठवटै वडाका ६६ टोलमा स्वास्थ्यकर्मी खटाएर नसर्ने रोगको परीक्षण भइरहेको र स्वास्थ्य परीक्षणका क्रममा आवश्यकताअनुसार औषधिसमेत वितरण गरिरहेको उहाँले बताउनुभयो ।
नसर्ने रोगको पहिचानका लागि एक महिनेअन्तर्गत स्वास्थ्य संस्थामा ३० वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने कार्य भइरहेको छ ।
अभियानअन्तर्गत उच्च रक्तचाप, मधुमेह, उचाइ र तौलको अनुपात परीक्षण गर्ने गरिएको छ ।नसर्ने रोगको पहिचानका लागि एक महिने अन्तर्गत स्वास्थ्य संस्थाहरूमा ३० वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने कार्य भइरहेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिनुभयो ।
अभियानको सिलसिलामा नसर्ने रोग पत्ता लागेका बिरामीलाई थप उपचारको आवश्यकता परेमा अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा रेफर गर्ने गरिएको स्वास्थ्य प्रमुख महराले बताए।
नसर्ने रोगको जोखिमका विषयमा नागरिकलाई जानकारी दिनुका साथै बिरामीलाई उपचारको दायरमा ल्याउन अभियान सञ्चालन गरिएको सिगास गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले बताउनुभयो ।
पालिकाबाट आवश्यक स्वास्थ्य सामग्रीसहित स्वास्थ्यकर्मीलाई बिरामी खोज्न परिचालन गरिसकिएको उनले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्