निर्वाचनका गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने दलहरूको प्रतिबद्धता
जुम्ला । जुम्लाका राजनीतिक दलहरूले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता गरेका छन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा जुम्लामा राजनीतिक दलहरूले निर्वाचन केन्द्रित गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने ५ बुँदे प्रतिबद्धता गरेका हुन् ।

शिक्षा पत्रकार समूह कर्णाली प्रदेशद्वारा शनिवार जुम्लाको तातोपानीमा आयोजित अन्तरक्रियामा सहभागी नेपाली काँग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी लगायतका दलहरूले निर्वाचनमा बालबालिका प्रयोग नगर्ने ५ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।
राजनीतिक प्रयोजनका लागि बालबालिकालाई सङ्गठित गर्ने, वा हड्ताल, बन्द, चक्काजाम, धर्ना वा जुलुसमा प्रयोग नगर्ने, कुनै दलको पक्षपोषण गरेर प्रचार गर्न गर्न गराउन नलगाउने, आमसभा, तथा जुलुसमा बालबालिकाको प्रयोग पूर्ण रुपमा रोक लगाउने, अनुगमन निरीक्षणमा जोड दिने लगायतका प्रतिबद्धतामा उनीहरूले हस्ताक्षर गरेका हुन् ।
नेपाली काँग्रेसका तातोपानी गाउँपालिकाका कार्यवाहक सभापति विरेन्द्र शाहीले आफ्नो पार्टीले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता गर्नुभयो । गाउँ गाउँमा जाँदा बालबालिका स्वतह स्फूर्त चुनावी सभामा नाच्न रमाउन चाहने भए पनि अब पूर्ण रुपमा निषेध गर्ने बताउनुभयो ।
नेकपा एमालेका पालिका कमिटी सदस्य दिपक रावतले जुम्लामा एमालेले निर्वाचन अवधिभर बालबालिकाको प्रयोग नगर्ने बाचा गर्नुभयो । नेपाली कम्युनिष्ट पार्टीका पालिका अध्यक्ष जत्तिप्रसाद न्यौपानले विगतको तुलनामा बालबालिकाको प्रयोग न्युन हुने गरेको र अब पूर्ण रुपमा रोक्न नेकपा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष पूर्ण प्रसाद चौलागाईले दलहरूले बालबालिकाको प्रयोग गरेको विषय बाहिर आए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय बेवास्ता गरेको बताउनुभयो ।
शिक्षा पत्रकार समूहका प्रदेश सचिव विष्णु न्यौपानेले चुनावमा बालबालिकाको प्रयोग र शैक्षिक संस्थाको प्रयोग पनि बढ्ने भएकाले यसलाई रोक्न दलहरूले गरेको प्रतिबद्धता कार्यान्वयनमा ध्यान दिन अनुरोध गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्