जानकीमा साहित्य–पर्यटन महोत्सव सम्पन्न
बाँके । बाँकेको जानकी गाउँपालिकाको सहयोगमा भेरी साहित्य समाज केन्द्रीय समितिको भाषा तथा समालोचना विभागद्वारा आयोजित ‘जानकी पर्यटन प्रवर्द्धन तथा साहित्यिक महोत्सव’ भव्य रूपमा सम्पन्न भएको छ । साहित्य, संस्कृति र पर्यटनको संगम बनेको उक्त कार्यक्रमले जानकीलाई दिगो पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्ने साझा प्रतिबद्धता व्यक्त गरेको छ।

समाजका अध्यक्ष इन्द्रबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष राम प्यारी यादव र प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले संयुक्त रूपमा उद्घाटन गर्नुभयो।
कार्यक्रममा बोल्दै अध्यक्ष छब्बन खाँले जानकीलाई पर्यटनमैत्री पालिका बनाउने लक्ष्य रहेको उल्लेख गर्दै दिगो र समावेशी पर्यटन नै समृद्धिको आधार भएको बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले पर्यटन नीति निर्माण गर्ने प्रतिबद्धता जनाउँदै दीर्घकालीन योजना र स्पष्ट कार्यदिशा आवश्यक रहेको धारणा राख्नुभयो।

वडा नं. ५ का अध्यक्ष एवं पालिकाका प्रवक्ता टिकानाथ यादवले जानकी पर्यटनको उर्वर भूमि भएको बताउँदै सरोकारवालासँग सहकार्य गरेर पर्यटन प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। समाजका महासचिव सुन्दर गुरुङले साहित्य र पर्यटन एकअर्काका परिपूरक क्षेत्र भएको धारणा राख्नुभयो।
कार्यक्रममा डा. राजकुमार थारुले कार्यपत्र प्रस्तुत गर्दै जानकी ६३.३२ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको र ५५ वटा निर्माण कम्पनी दर्ता रहेको तथ्य उल्लेख गर्नुभयो। उहाँले औद्योगिक अध्ययन प्रतिष्ठान स्थापना, धार्मिक तथा सांस्कृतिक धरोहरको संरक्षण र वाङ्मय प्रतिष्ठानको स्थापना गर्न सके जानकी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सक्षम हुने सुझाव दिनुभयो।
पर्यटन विज्ञ श्रीराम सिग्देलले बाँके हालसम्म दिगो पर्यटन गन्तव्य बन्न नसकेको उल्लेख गर्दै यसलाई केवल ‘गन्तव्य’ मात्र नभई दीर्घकालीन योजना र गुरुयोजना निर्माणमार्फत सशक्त पर्यटन केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो । जानकीका वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारीले गुरुयोजना निर्माण गरी व्यवस्थित ढंगले पर्यटन प्रवर्द्धनका काम अघि बढाइने जानकारी दिनुभयो।
कार्यक्रममा सनत रेग्मी, अब्दुल लतिफ शौक, प्राज्ञ महानन्द ढकाल, हरि प्रसाद तिमिल्सिना, नरेन्द्रजङ पिटर, भारतीय साहित्यकार राम बहादुर मिश्रा लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साहित्यकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी साहित्यकारहरूलाई सम्मान समेत गरिएको थियो।
उक्त अवसरमा ‘दौँतरी’ नामक पुस्तकको समेत विमोचन गरिएको थियो। साहित्यिक ऊर्जा र पर्यटन सम्भावनालाई एकै मञ्चमा उभ्याउँदै सम्पन्न भएको यो महोत्सवले जानकीलाई सांस्कृतिक तथा दिगो पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने दिशामा नयाँ आशा जगाएको छ।








प्रतिक्रिया राख्नुहोस्