रेडियो नेपाल संवाददातासहित ४ जना पुरस्कृत

धनकुटा । धनकुटामा हरेक शुक्रवार सञ्चालन हुँदै आएको चियासँग कविता कार्यक्रमको वार्षिकोत्सवको अवसरमा आज धनकुटामा पत्रकारसहित ४ जनालाई पुरस्कृत गरिएको छ ।
रेडियो धनकुटा एफएमको संयोजनमा हुँदै आएको चियासँग कविता कार्यक्रम पहिलो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा रेडियो नेपाल धनकुटा संवाददाता ईश्वर थापासहित अन्य ३ जना स्रष्टालाई सम्मान तथा पुरस्कृत गरेको हो ।
कार्यक्रमको समाचार सम्प्रेषणमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै थापालाई चियासँग कविता साहित्य पत्रकारिता पुरस्कारले सम्मान गरिएको हो ।
थापालाई दोसल्ला ओढाएर नगद ५ हजार रुपैयाँ र सम्मान पत्रले सम्मान गरिएको हो । यस्तै १५ हजार राशिको चियासँग कविता धनकुटा साहित्य रत्न पुरस्कारबाट कवि घनश्याम बराल औलपालि, ५ हजार राशिको चियासँग कविता युवा साहित्य पुरस्कारबाट कवि तथा मूर्तिकार मञ्जुल मितेरी र ५ हजार राशिको चियासँग कविता नव प्रतिभा पुरस्कारबाट कवि दृष्टि श्रेष्ठलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।
कार्यक्रममा चियासँग कविता सङ्ग्रह विमोचन गरिएको थियो । त्यसैगरी, चियासँग कविताको पहिलो शृङ्खलादेखि सहभागी सर्जकहरू तथा कार्यक्रम सञ्चालनका लागि आर्थिक, भौतिक र अन्य सहयोग पुर्याउने सहयोगीहरूलाई समेत सम्मान गरिएको थियो ।
वार्षिक उत्सवका अवसरमा आयोजना भएको वृहत् कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहनुभएका नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले कार्यक्रमको उद्घाटन कपमा चिया खन्याएर गर्नुभएको थियो । कार्यक्रममा कुलपति राईले यस्ता कार्यक्रमले समाजलाई जगाउने काम गरेको बताउनुभयो ।
कार्यक्रममा कविहरू रमेशचन्द्र अधिकारी, मुकुन्द प्रयास, केजी सुब्बा, द्वारिका रिजाल र रेखा क्षत्रीले विशेष कविता वाचन साथै गायकहरू भुवन डङ्गोल, गौरवनारायण राई, हुमे स्मृति, जुली खालिङको गायन र ध्रुव एलेक्सको नृत्य प्रस्तुति रहको थियो ।
धनकुटाको पहिलो सामुदायिक रेडियो धनकुटा एफएमको संयोजनमा सञ्चालन हुँदै आएको साहित्यिक कार्यक्रम ‘चियासँग कविता’ हरेक शुक्रवार आयोजना हुँदै आएको संयोजक गोपाल बराइलीले जानकारी दिनुभयो ।





प्रतिक्रिया राख्नुहोस्