तपाईँ सुन्दै हुनुहुन्छः

२०औँ पोखरा अन्तर्राष्ट्रिय म्याराथन शनिवार हुने

'२१ देशका ३ हजार ५ सय ६ जना धावक २१ इभेन्टमा प्रतिस्पर्धा गर्दै'

पोखरा। पोखरामा भोलि (शनिवार) २० औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०८२ हुने भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिवार बिहान ७ः०० बजे उक्त दौड पोखरा रङ्गशालाबाट सुरु हुने भएको मञ्चका अध्यक्ष दील बहादुर गुरुङले बताउनुभयो ।

म्याराथन सहितको २१ वटा इभेन्टको लागि आवश्यक अन्तिम तयारी पूरा भएको समेत बताउँदै उहाँले यस वर्ष पोखरा म्याराथन अन्तर्गत ४२ किलोमिटरको म्याराथन, हाप म्याराथन (२१ किलोमिटर) सहितका २१ वटा इभेन्टमा प्रतिस्पर्धा हुने बताउनुभयो । ३ हजार ५ सय ६ जना धावकहरू सूचिकृत भएको उल्लेख गर्दै मञ्चका अध्यक्ष गुरुङले ‘रन फर फन’ सहित करिब १० हजार जना शनिवार पोखरा म्याराथन दौडको अभियानमा सहभागी हुने दाबी गर्नुभयो ।

खुल्ला म्याराथन ४२.१९५ किमी, राष्ट्रिय तथा प्रदेशस्तरीय म्याराथन, ४५ वर्ष माथिको म्याराथन, हाफ म्याराथन महिला–पुरुष, १० किमी दौड, विद्यालय स्तरीय ५ किमी दौड, भेट्रान्स, कर्पोरेट दौड तथा ‘रन फर फन’ समावेश गरिएको उहाँले जनाउनु भयो । प्रतियोगितामा अमेरिका, बेलायत, न्यूजिल्याण्ड, केन्या, नाइजेरिया, बेल्जियम लगायत विभिन्न देशबाट धावकहरूको सहभागिता रहने भएको मञ्चका सचिव महेश पौडेलले बताउनुभयो ।

यस वर्ष २१ वटा स्पर्धामा ७६ जना विजेतालाई कुल रु १९ लाख ९८ हजार नगद पुरस्कार वितरण गरिने भएको अध्यक्ष गुरुङले जनाउनु भयो । म्याराथनतर्फ प्रथम हुनेले रु ४ लाख, द्वितीयले रु २ लाख र तृतीयले रु १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । चौथोदेखि आठौँ स्थानसम्मका खेलाडीलाई पनि नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । साथै, दूरी पूरा गर्ने सबै खेलाडीलाई ३ हजार ७ सय फिनिसर मेडल प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button