तपाईँ सुन्दै हुनुहुन्छः

पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा यस्तो छ तयारी

'पूर्व अर्थमन्त्रीसहित ५ पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा'

रुपन्देही। लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्ला रुपन्देही हो।

यहाँ पाँच वटा निर्वाचन क्षेत्र रहेका छन्। जिल्लामा पूर्व अर्थमन्त्रीसहित पाँच पूर्वमन्त्री गरी कुल १५९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

अघिल्लो निर्वाचनमा पाँचमध्ये तीन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी एमालेले विजय हासिल गरेको थियो। क्षेत्र न- १, २ र ५ एमालेले जितेको थियो भने क्षेत्र न-३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी र क्षेत्र न-४ मा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (हाल जनता समाजवादी पार्टी, नेपाल) विजयी भएका थिए।

२०७९ सालको निर्वाचनमा क्षेत्र न-१ मा नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्मा, २ मा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेल, ३ मा राप्रपाका वरिष्ठ नेता स्व. दीपक बोहोरा, ४ मा तत्कालीन लोसपा हाल जसपाका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्ला र ५ मा एमाले नेता बासुदेव घिमिरे निर्वाचित हुनुभएको थियो । अहिले छविलाल उम्मेदवार बन्नुभएको छैन भने बोहोराको निधन पछि उहाँका छोरा प्रज्वल नै सो क्षेत्रमा उम्मेदवार बन्नुभएको छ । सबैभन्दा धेरै क्षेत्र नम्बर २ र सबैभन्दा कम क्षेत्र नम्बर ४ मा उम्मेदवार रहनुभएको छ । रुपन्देही २ बाट ३९ जना प्रतिस्पर्धामा हुनुहुन्छ । क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत कपिल पौडेलका अनुसार यहाँ ३२ जना उम्मेदवारमध्ये २० जना दलबाट  र १२ जना स्वतन्त्र रूपमा रहनुभएको छ । क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेका अनुसार ३९ जना उम्मेदवारमध्ये दलबाट २० र स्वतन्त्र १९ जना रहनुभएको छ । यहाँ १ लाख ३५ हजार ५० मतदाता रहेका छन् । रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार क्षेत्र नम्बर ३ मा ३५ जना उम्मेदवारमध्ये दलका १९ र स्वतन्त्र १६ जना रहनुभएको छ । क्षेत्र नम्बर ४ मा २२ जनाको उम्मेदवारी रहेको निर्वाचन अधिकृत टोपबहादुर विष्टले जानकारी दिनुभयो । यहाँ दलबाट १५ र स्वतन्त्र ७ जना प्रतिस्पर्धामा रहनुभएको छ । क्षेत्र नम्बर पाँचमा २८ जना उम्मेदवारमध्ये दलबाट १९ र ९ जना स्वतन्त्र  रहेको निर्वाचन अधिकृत गोपीकृष्ण रेग्मीले जानकारी दिनुभयो । 

एमालेबाट केन्द्रीय उपाध्यक्षसहित पाँच अनुभवी नेता मैदानमा
रुपन्देहीमा नेकपा एमालेले क्षेत्र नम्बर १ मा केन्द्रीय सदस्य दधिराम न्यौपाने, २ मा केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेल, ३ मा पूर्व सांसद वासुदेव घिमिरे, ४ मा पूर्व सांसद प्रमोद यादव र ५ मा पूर्व सांसद खिमलाल भट्टराईलाई उम्मेदवार बनाएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा टिकट पाएका न्यौपाने अघिल्लो कार्यकालमा लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्य हुनुहुन्थ्यो भने पौडेल पूर्व उप तथा पटक पटक अर्थमन्त्री भइसक्नुभएको र एमालेको केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ । यस्तै घिमिरे तिलोत्तमा नगरपालिकाको संस्थापक मेयर र विघटित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ । ०७९ मा उहाँले रुपन्देही ५ बाट प्रत्यक्षमा निर्वाचन जित्नुभएको थियो। रुपन्देही ४ मा उम्मेदवार बनेका यादव यसअघि नेपाली काँग्रेसबाट सोही क्षेत्रमा दुई पटक जितेका अनुभवी अनुहार हुनुहुन्छ ।

काँग्रेसबाट पाँचमध्ये चार नयाँ अनुहार
नेपाली काँग्रेसबाट रुपन्देहीका ५ मध्ये ४ क्षेत्रमा नयाँ अनुहार उम्मेदवार बन्नुभएको छ । क्षेत्र न-१ मा हिरा केसी, क्षेत्र न-२ मा चुन्नु पौडेल, क्षेत्र न-३ सुशील गुरुङ,क्षेत्र नंं ४ मा आशुतोष मिश्र र क्षेत्र नंं ५ मा भरतकुमार शाह उम्मेदवार रहनुभएको छ । क्षेत्र नं १ मा उम्मेदवार बन्नुभएका खत्री देवदहका पूर्व नगर प्रमुख र क्षेत्रीय सभापति हुनुहुन्छ। २ मा टिकट पाएका पौडेल अर्बपति व्यवसायी हुनुहुन्छ । ३ का उम्मेदवार गुरुङ क्षेत्र नं ३ का सभापति हुनुहुन्छ भने ४ का मिश्र नयाँ उम्मेदवार हुनुहुन्छ । ५ का उम्मेदवार शाह रुपन्देही ५ बाट तीन पटक सङ्घीय सांसद जितेका नेता हुनुहुन्छ । २०७९ मा भने एमालेका उम्मेदवारसँग पराजित हुनुभएको थियो । केसी,गुरुङ र शाह यसअघि शेरबहादुर देउवा पक्षमा भए पनि विधान महाधिवेशनमा गगन–विश्व पक्षमा खुलेर आउनुभएको हो । 

रास्वपाबाट महामन्त्रीसहित सबै युवा अनुहार
रास्वपाबाट क्षेत्र न-१ मा पार्टी महामन्त्रीसमेत रहेका सुनिल लम्साल, २ मा अधिवक्ता सुलभ खरेल, ३ मा डा लेखजंग थापा, ४ मा कन्हैया बानिया र ५ मा तौफिक अहमद खान उम्मेदवार रहनुभएको छ। क्षेत्र नं १ मा टिकट पाउनुभएका लम्साल बालेन शाह काठमाडौँका मेयर हुँदा उहाँको सचिवालयमा काम गर्नुभएको थियो । क्षेत्र नं २ मा उम्मेदवार बन्नुभएका खरेल अमेरिका बसेर निर्वाचनका लागि आउनुभएका अधिवक्ता हुनुहुन्छ । ३ मा उम्मेदवार बन्नुभएका थापा न्युरो सर्जन हुनुहुन्छ भने क्षेत्र नं ४ मा टिकट पाएका बानिया लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रदेश सभा सदस्यमा निर्वाचित भए पनि अहिले उता राजीनामा दिएर रास्वपाबाट उम्मेदवार बन्नुभएको हो ।  क्षेत्र नं ५ का खान भैरहवा निवासी निर्माण व्यवसायी हुनुहुन्छ ।

नेकपामा पनि अधिकांश नयाँ अनुहार
नेकपाले क्षेत्र नम्बर १ मा पूर्व सांसद घनश्याम यादव, २ मा सुवास पाण्डे (विश्वदीप), ३ मा फैज अहमद खान, ४ मा बाबुलाल यादव र ५ मा मोहम्मद वकील मुसलमानलाई उम्मेदवार बनाएको छ । यादव ०६४ मा निर्वाचन जितेर चर्चामा आउनुभएको थियो भने विश्वदीप लामो समय डा. बाबुराम भट्टराईको सचिवालयमा बसेर काम गर्नुभएको थियो ।अन्य उम्मेदवार पार्टीमा लामो समय काम गरेका अनुहार हो ।

जसपाबाट सदाबहार सांसद शुक्लाबाहेक सबै नयाँ
यसैगरी जसपाले रुपन्देही क्षेत्र नम्बर-१ बाट मोहम्मद असलम खाँ, क्षेत्र न-२ बाट दीपक गुरुङ, क्षेत्र नम्बर-३ बाट श्रीनिवास यादव, क्षेत्र नं ४ बाट सर्वेन्द्रनाथ शुक्ला र क्षेत्र नम्बर ५ बाट मोहम्मद वहिद फकिर (रमजान अली)लाई मैदानमा पठाएको छ । शुक्ला तीन दशकदेखि सो क्षेत्रमा उम्मेदवार बन्दै चार पटक जितेका पूर्वमन्त्री हुनुहुन्छ ।

रुपन्देही जिल्लामा ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता रहेका छन् । जिल्लामा ३ लाख २६ हजार ३ सय ११ महिला, ३ लाख ४६ हजार २ सय ३ पुरुष र ९ अन्य गरी ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता रहेको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिनुभयो । प्रतिनिधि सभातर्फ रुपन्देहीमा पाँचवटा निर्वाचन क्षेत्र छन् । रुपन्देही क्षेत्र नम्बर १ मा १ लाख ४६ हजार ८ सय २४, २ मा १ लाख ३५ हजार ५०, ३ मा १ लाख ४० हजार ३५, ४ मा १ लाख १६ हजार १ सय ७२ र क्षेत्र नम्बर ५ मा १ लाख ३४ हजार ४ सय ४२ जना मतदाता छन् । रुपन्देहीमा २०९ मतदान स्थल र ७३२ वटा मतदान केन्द्र रहेको मुख्य निर्वाचन अधिकृत बस्नेतले जानकारी दिनुभयो । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रुपन्देही जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रमा शुक्रवार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालले बताउनुभयो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलले फागुन २१ हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको बताउनुभयो । उम्मेदवार, कर्मचारी, निर्वाचनमा खटिनुहुने सम्पूर्ण सरोकारवाला, व्यक्तिहरूको सुरक्षाको सम्पूर्ण प्रबन्ध गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले निर्वाचन सफल बनाउन सहयोग गरिदिन सबैलाई आग्रहसमेत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button