तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा उत्पादन भएको कफीले बजार नपाउँदा कृषक चिन्तित

बाजुरा। बाजुरामा उत्पादन भएको कफीले बजार नपाउँदा स्थानीय कृषकहरू चिन्तित बनेका छन्। बडीमालिका नगरपालिका–४ का रिला र ओलेना क्षेत्रमा उत्पादन हुँदै आएको कफी बजारीकरण नहुँदा किसान समस्यामा परेका हुन्।

रिलाका कृषक कृष्ण शाहका अनुसार उहाँको बारीमा साना–ठूला गरी करिब एक सयभन्दा बढी कफीका बोट छन्। हाल करिब ४० बोटले उत्पादन दिइरहे पनि बजार नहुँदा पाकेको कफी बोटमै झर्न थालेको उहाँले बताउनुभयो। “बजारीकरण नहुँदा कफी चरा र जनावरले खाने गरेका छन्, उत्पादनको मूल्य नपाउँदा दुःख लागेको छ,” उहाँले भन्नुभयो।

ओलेनाका कृषक देबनाथले पनि धेरै वर्षदेखि कफी खेती गर्दै आए पनि उचित बजार नपाउँदा निराश भएको बताउनुभयो। संघ, प्रदेश र स्थानीय तहबाट कफी खेतीको प्रवर्द्धन तथा बजारीकरणमा ठोस सहयोग नपाएको उहाँहरूको गुनासो छ।

स्थानीय दीपक शाहका अनुसार देशभर कफीको माग र मूल्य राम्रो रहे पनि बाजुरामा उत्पादित कफीले बजार पाउन सकेको छैन। आवश्यक उपकरणको अभावले पनि कृषकले समस्या झेल्नु परेको उहाँले बताउनुभयो। कफी उत्पादन र बजारीकरणका लागि पटक–पटक विभिन्न निकायमा माग गर्दा पनि चासो नदिइएको कृषकहरूको आरोप छ।

यता कृषि ज्ञान केन्द्र, बाजुराले जिल्लामा कफी उत्पादन भइरहेको विषयमा आफूहरू अनविज्ञ रहेको जनाएको छ। केन्द्रका प्रमुख जसीराम साहनीले व्यावसायिक रूपमा कफी उत्पादन भइरहेको भए बजार व्यवस्थापनमा आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button