तपाईँ सुन्दै हुनुहुन्छः

खजुरा गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा जिल्लामै पहिलो

बाँके। जिल्लाका आठ स्थानीय तहमध्ये खजुरा गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा ७१.९९ प्रतिशत अंक प्राप्त गर्दै पहिलो बनेको छ। सेवा प्रवाह, वित्तीय सुशासन, योजना कार्यान्वयन, पारदर्शिता र संस्थागत क्षमताजस्ता सूचकमा खजुराको प्रदर्शन अन्य पालिकाभन्दा अगाडि देखिएको हो।

पालिकाले यस उपलब्धिलाई सामूहिक प्रतिबद्धता, पारदर्शिता र इमानदार कार्यसंस्कृतिको परिणामका रूपमा लिएको छ।

गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले यो सफलता सम्पूर्ण खजुरावासीको जीत भएको बताए। निर्वाचनका बेला गरेका प्रतिबद्धता व्यवहारमा उतार्ने प्रयासको मूल्याङ्कन आज अंकमा देखिएको उहाँको भनाइ छ। जिल्लामै पहिलो हुनु गौरवसँगै आगामी दिनमा अझ प्रभावकारी सेवा दिनुपर्ने जिम्मेवारी पनि भएको उनले उल्लेख गरे।

उपाध्यक्ष मञ्जु मल्लले योजनाको प्रभावकारी अनुगमन, लक्षित वर्गका लागि पारदर्शी कार्यक्रम कार्यान्वयन र गुणस्तरीय विकास निर्माणलाई सफलताको आधार बताइन्। बजेटको सही सदुपयोग र समयमै काम सम्पन्न गर्ने अभ्यासले नतिजा दिएको उनको भनाइ छ।

प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेलले राजनीतिक नेतृत्व र कर्मचारीबीचको समन्वय, समयमै काम सम्पन्न गर्ने संस्कार र उत्तरदायित्वपूर्ण कार्यशैलीले खजुरालाई अग्रस्थानमा पुर्‍याएको बताए।

वरिष्ठ लेखा अधिकृत प्रदीप सुनारकस अनुसार बेरुजु न्यूनीकरण, बजेटको मितव्ययी प्रयोग र वित्तीय पारदर्शितामा ‘शून्य सहनशीलता’ नीति अपनाइएको थियो। आर्थिक अनुशासन नै सफलताको मुख्य आधार भएको उनले स्पष्ट गरे।

खजुरा गाउँपालिकाको यो उपलब्धिलाई बाँके जिल्लाभर सुशासन र प्रभावकारी सेवा प्रवाहको सकारात्मक सन्देशका रूपमा हेरिएको छ। प्रतिस्पर्धात्मक मूल्याङ्कनमा अग्रस्थान हासिल गर्नुले स्थानीय सरकार दायित्वबोधसहित सही दिशामा अघि बढिरहेको संकेत दिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button