तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचार निर्मूल पार्न सबैको प्रतिबद्धता आवश्यक : प्रदेश प्रमुख देवकोटा

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले भ्रष्टाचार निर्मूल पार्न सबैको प्रतिबद्धता आवश्यक रहेको बताउनुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसको अवसरमा हेटौँडास्थित कार्यालयले बुधबार आयोजना गरेको समारोहमा प्रदेश प्रमुख देवकोटाले हरेक व्यक्ति कानुनी र नैतिकताको दायराभित्र रहनुपर्ने बताउनुभएको हो ।

प्रदेश प्रमुख देवकोटाले भ्रष्टाचार नियन्त्रणमा अख्तियार अझ सशक्त र प्रभावकारी बन्नुपर्ने भन्दै निष्पक्ष, स्वतन्त्र र परिणाममुखी अनुसन्धानमार्फत आम नागरिकको भरोसा जित्न उहाँले आयोगलाई आग्रह समेत गर्नुभयो । भ्रष्टाचारलाई ‘प्राणघातक क्यान्सर’सँग तुलना गर्नुहुँदै उहाँले यसको पूर्ण निर्मूलका लागि शून्य सहनशीलता आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भ्रष्टाचारलाई नियन्त्रण भन्दा निर्मूल नै पार्नुपर्ने बताउनुभयो । शासन सञ्चालन गर्ने राजनीतिक व्यक्तित्व, प्रशासन चलाउने निजामती संयन्त्रले भ्रष्टाचार गर्दैनौँ, गर्न पनि दिन्नौँ भन्ने नारालाई व्यवहारमा पनि लागु गर्नुपर्ने उल्लेख गर्नुभयो । अख्तियारमा उजुरी नै नपर्ने वातावरण निर्माण गर्नुपर्नेमा उहाँको जोड थियो । उहाँले लोकतन्त्रमा जनता नै सर्वोपरि भएकोले अख्तियारको काम कारबाही जनताको पक्षमा हुनुपर्ने भन्दै उहाँले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास निर्माणसँग सम्बन्धी उजुरीहरूको छिटो छिनोफानो हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईँले अख्तियारको काम जति कम भयो, त्यत्ति नै सुशासन कायम हुँदै जाने धारणा राख्नुभयो । सबै तह र तप्कामा बसेकाहरूले आफ्नो भूमिका निर्वाह गर्दा सुशासनयुक्त, भ्रष्टाचार मुक्त देश निर्माण हुने उहाँले बताउनुभयो । उपसभामुख चापागाईँले प्रदेशसभा र अख्तियारबिच विशेष सम्बन्ध रहेको जिकिर गर्नुहुँदै प्रदेशसभाले बनाएका कानुनको विषयमा सबै प्रष्ट हुँदा अख्तियारको दुरुपयोग कम हुने बताउनुभयो ।

कार्यक्रममा कार्यालयका प्रमुख रामकृष्ण पुडासैनीले आर्थिक वर्ष २०८१/८२ मा ७० दशमलब ४२ उजुरी फछ्र्यौट भएको जानकारी दिनुभयो । उहाँका अनुसार हेटौँडास्थित कार्यालयमा दर्ता भएका २ हजार ७६६ उजुरीमध्ये १ हजार ९४८ उजुरी फछ्र्यौट भएको हो । चालु आर्थिक वर्ष २०८२/८३ मा ८ सय १८ वटा उजुरी जिम्मेवारी सरेर आएको बताउनुहुँदै उहाँले आयोगमा हालसम्म ९ सय ५८ उजुरी दर्ता भई १ हजार ७७६ उजुरी कायम रहेको जानकारी दिनुभयो । कायम रहेका मध्ये ७ ३१ उजुरीको फर्छ्यौट भई हाल १ हजार ४५ उजुरी छानबिनको क्रममा रहेको उहाँले बताउनुभयो ।

३५औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहमा कार्यालयका उत्कृष्ट कर्मचारीहरूलाई सम्मान तथा पुरस्कृत समेत गरिएको थियो । समारोहमा विभिन्न सरकारी कार्यालयका प्रमुख, कर्मचारी, पत्रकार तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button