तपाईँ सुन्दै हुनुहुन्छः

महिलालाई गाउँमै आत्मनिर्भर बनाउने पहल

बाँके। बाँकेको जानकी गाउँपालिकाले महिलाको आर्थिक सशक्तिकरणलाई प्राथमिकतामा राख्दै ४० दिने ब्युटिसियन तालिम सञ्चालन गरेको छ। तालिमको उद्देश्य महिलालाई गाउँमै सीप सिकाएर आत्मनिर्भर बनाउनु हो।

गाउँपालिकाका अध्यक्ष छब्बन खाँले भने, “सीप भए अवसर आफैं सिर्जना हुन्छ। महिलालाई आत्मनिर्भर बनाउनु नै हाम्रो लक्ष्य हो।” उहाँले महिलाहरूलाई रोजगारीका लागि बाहिर धाउनुपर्ने बाध्यता अन्त्य गर्दै आफ्नै ठाउँमा पेसा–व्यवसाय गर्न सक्ने वातावरण सिर्जना गर्न तालिम आयोजना गरिएको जानकारी दिनुभयो।

तालिम उद्घाटन कार्यक्रममा वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारीले भने, “जागिर खोज्नुभन्दा सीप सिकेर स्वरोजगार बन्नु आजको आवश्यकता हो। सहज जीवनयापनका लागि सीप सबैभन्दा ठूलो पूँजी हो।”

सहायक महिला विकास निरीक्षक कल्पना गहमगरले मधेश र मुस्लिम समुदायका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए। सामाजिक विकास समितिका संयोजक राम अचल धोबीले स्थानीय महिलालाई जीवनोपयोगी सीप प्रदान गरी आर्थिक उन्नतितर्फ अग्रसर गराउने लक्ष्यसहित तालिम आयोजना गरिएको जानकारी दिनुभयो।

तालिम प्रशिक्षक मिरा राना मगरले ४० दिनको तालिमले सहभागीलाई दक्ष बनाउन मात्र नभई भविष्यमा प्रशिक्षकका रूपमा समेत स्थापित हुन सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

तालिममा सहभागी जानकी गाउँपालिका–३ की पुष्पा दासले सीप सिकेर आफ्नै व्यवसाय सञ्चालन गर्ने लक्ष्य राखेकी छिन्। अर्की सहभागी जस्मिन बानोले पनि तालिमले आफूहरूलाई आर्थिक रूपमा सबल र सक्षम बन्न मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरिन्।

तालिममा व्यावसायिक सोच र व्यवहारसहित काम गर्न वक्ताहरूले सहभागीलाई आग्रह गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button