द्वन्द र विमति बिर्सिएर निर्वाचनमा होमिन कांग्रेस उपसभापति शर्माको आग्रह
नेपालगन्ज । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले द्वन्द र विमतिलाई बिर्सिएर एक ढिक्का भई निर्वाचनमा होमिन आग्रह गर्नुभएको छ । निर्वाचन परिचालन एवम् प्रचारप्रसार मूल समिति नेपाली कांग्रेस बाँकेले आज नेपालगन्जमा आयोजना गरेको वृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक समेत रहनुभएका उपसभापति शर्माले किञ्चित पनि अलमल गर्ने सुविधा काँग्रेसलाई नभएको भन्दै विशेष महाधिवेशनपछि पार्टी बदलिएर जनतामाझ गएको बताउनुभयो ।

शर्माले काँग्रेसले यस पटक करिब दुई तिहाइ नयाँ उम्मेदवार बनाएको उल्लेख गर्नुभयो । ‘जेनजी विद्रोहपछि साँच्चिकै सच्चिएर आएको दल कांग्रेस हो’ उहाँले भन्नुभयो ‘देशलाई गाँस्ने पार्टी कांग्रेस हो । अब बन्ने सरकारले नागरिकमा आशा र भरोसा जगाउनुपर्नेछ, त्यो तागत काँग्रेससँग छ । इतिहास साक्षी छ, समन्वय, सहकार्य र एकता कायम गर्न सक्ने सामर्थ्य काँग्रेससँग छ ।’ शर्माले जो जहाँ जुन पदीय जिम्मेवारीमा छ, उसले आफू त्यहीँ खटिएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
भेलामा बोल्दै कांग्रेस केन्द्रीय सदस्य गोपाल दहित, कांग्रेस लुम्बिनी प्रदेश उपसभापति एवम् निर्वाचन परिचालन मूल समिति संयोजक राजु खनाल, नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार अमर सिंह पुन, क्षेत्र नम्बर १ का उम्मेदवार नारायण प्रसाद गौडेल, क्षेत्र नम्बर २ का उम्मेदवार सुधांशु कोइराला, समानुपातिक उम्मेदवार दुखीराम लोनियाले जनआकाङ्क्षा सम्बोधन र संविधान रक्षाका लागि काँग्रेसलाई जिताउन आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति गोपाल प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भेलाको सञ्चालन पार्टी सचिव सन्जु कुमारी चौधरीले गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्