तपाईँ सुन्दै हुनुहुन्छः

मतदाता शिक्षा विशेष कार्यक्रम २०८२ अनुसार आयोगको तयारी तीव्र

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताहरूलाई निर्वाचन आचार संहिता सँगै मतदान प्रक्रिया बारे सही रूपमा जानकारी प्रदान गर्ने उद्देश्यले निर्वाचन आयोगले मतदाता शिक्षा विशेष कार्यक्रम २०८२ बमोजिम कार्य गरिरहेको छ ।

निर्वाचनमा आम नागरिकलाई निर्वाचन प्रक्रिया,मताधिकारको प्रयोग तथा मतदान विधिबारे समयमै जानकारी दिने उद्देश्यले यही माघ १९ गते मतदाता शिक्षा विशेष कार्यक्रम २०८२ स्वीकृत भइसकेको र सोही बमोजिम आयोगले काम गरिरहेको आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

नेपालको संविधान,निर्वाचन सम्बन्धी प्रचलित कानुन,मतदाता शिक्षा नीति,निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका,२०७८को दफा १७ बमोजिम निर्वाचन आयोगले मतदाता शिक्षा तथा निर्वाचन प्रचार प्रसार गर्ने उद्देश्यले मतदाता शिक्षा विशेष कार्यक्रम तयार गरी स्वीकृत गरेको प्रवक्ता भट्टराईले बताउनुभयो।

आम नागरिकलाई सही ,तथ्यपरक र उपयोगी जानकारी प्रदान गरी जिम्मेवार र सचेत मतदान संस्कृतिको विकास गर्नु ,मतदानको कार्यमा आम मतदाताको सहभागिता अभिवृद्धि गरी बदर मतको सङ्ख्या न्यूनीकरण गर्नु मतदाता शिक्षा कार्यक्रमको प्रमुख उद्देश्य रहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।

मतदाता शिक्षाका लागि आमसञ्चार माध्यम,सामाजिक सञ्जाल र स्वयम् सेवक परिचालन गरिने जनाइएको छ ।

देशभरका नगरपालिका र गाउँपालिका गरी कूल ६ हजार ७ सय ४३ वडामा आगामी फागुन ३ गतेदेखि १७ गतेसम्म मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने र आमसञ्चार माध्यम मार्फत पनि मतदाता शिक्षा र निर्वाचन प्रचार प्रसार कार्यक्रमलाई व्यापक र प्रभावकारी बनाइने प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

यस कार्यक्रमबाट मतदाताले मतदान प्रक्रिया,मतपत्रको प्रयोग ,गोप्य मतदानको महत्त्व,निर्वाचन आचारसंहिता तथा गलत एवम् भ्रामक सूचनाबाट बच्ने उपायबारे जानकारी प्राप्त गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button