हंशपुर नगरपालिकाका नगरप्रमुख प्रदीप यादवको निधन, आज अन्त्येष्टि
जनकपुरधाम। धनुषाको हंशपुर नगरपालिकाका नगरप्रमुख प्रदीप कुमार यादवको मस्तिष्कघातका कारण निधन भएको छ। उपचारका क्रममा काठमाडौँमा हिजो साँझ ७ः३० बजे उहाँको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
हंशपुर नगरपालिका वडा नं. ५ वेलही निवासी यादवलाई चार दिनअघि शुक्रबार जनकपुरधामस्थित आफ्नै निवासमा मस्तिष्कघात भएको थियो। प्रारम्भिक उपचारका लागि न्युरो अस्पताल जनकपुरधाममा भर्ना गरिएका उहाँलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लगिएको थियो। तर उपचारकै क्रममा उहाँको निधन भएको परिवारले जनाएको छ।
परिवारका अनुसार आज बिहान ११ बजे श्रद्धाञ्जलीका लागि हंशपुर नगरपालिकामा उहाँको शव राखिनेछ। त्यसपछि आजै अन्त्येष्टि गरिने कार्यक्रम छ।
६० वर्षीय यादव नेपाली कांग्रेसबाट निर्वाचित नगरप्रमुख हुनुहुन्थ्यो। उहाँ नगरपालिका संघ, मधेश प्रदेशका अध्यक्षसमेत रहनुभएको थियो। उहाँका दुई छोरा, एक छोरी र श्रीमती छन्।








प्रतिक्रिया राख्नुहोस्