तपाईँ सुन्दै हुनुहुन्छः

दैलेखका सात पालिकाका १ हजार ७ बढी किशोरीलाई एचपीभी खोप लगाउन सुरु

दैलेख । दैलेखमा आजदेखी पहिलो चरणमा एक हजार सात सय बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउन सुरु भएको छ । दैलेखका ७ गाउँपालिका तथा नगरपालिकामा १ हजार ७ सय ५९ किशोरीलाई खोप लगाउन सुरु गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।

विद्यालयमा अध्ययनरत १ हजार ६ सय ३१ छात्रा र विद्यालय बाहिर १ सय २८ किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउन सुरु गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. मनोज विश्वकर्माले जानकारी दिनुभयो । पहिलो चरणमा जिल्लाका गुराँस, डुङ्गेश्वर, भगवतीमाई, नौमूले, महावु र भैरवी गाउँपालिका तथा नारायण नगरपालिकामा खोप अभियान सुरु गरिएको प्रमुख डा. विश्वकर्माले बताउनुभयो ।

उहाँले आजदेखी सुरु भएको खोप अभियान यही माघ २८ गतेसम्म पहिलो चरणमा जिल्लाका ७ स्थानीय तहमा सञ्चालन भएको बताउनुभयो । खोपले एचपीभी प्रजाति १६ र १८ को कारणबाट सङ्क्रमण हुने पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउने डा.विश्वकर्माले बताउनुभयो ।

एचपीभी खोप ९८ देखि १०० प्रतिशतसम्म प्रभावकारी देखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिनुभयो । यो खोप १० वर्षदेखि १४ वर्ष उमेरका किशोरीलाई १ मात्रा दिनुपर्दछ । 

कक्षा ६ मा अध्ययन गर्ने छात्राहरू र विद्यालय नजाने १० देखी १४ वर्ष उमेरका किशोरीहरूलाई खोप लगाइने खोप अधिकृत रेग्मीले बताउनुभयो । उहाँले कार्यालयले ‘खोज र खोप’ नीति लिएकाले कोही पनि किशोरी खोपबाट वञ्चित नहुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button