विदेश जाने योजना त्यागेर गाउँमै उद्योग

इलाम I इलामको माइजोगमाई गाउँपालिकाका ४० वर्षे तोया महत कुनै समय पासपोर्ट बनाएर वैदेशिक रोजगारीमा जाने तयारीमा हुनुहुन्थ्यो ।
तर आफ्नै गाउँको सम्भावना बुझ्दै उनले नेपालमै केही गर्नुपर्छ भन्ने सोच बनाए। यही सोचबाट सुरु भएको उहाँको पशुपालन तथा ‘डग च्यु–च्यु’ उत्पादन व्यवसाय आज स्थानीय मात्र होइन, अन्तर्राष्ट्रिय बजारसम्म पुगेको छ।
स्नातक तहको अध्ययन पूरा गर्नुभएका तोया महतले प्राविधिक शिक्षातर्फ समेत प्रशिक्षण लिनुभएकाे छ। यही ज्ञान र सीपले उहाँलाई व्यवसाय व्यवस्थित गर्न, उत्पादन गुणस्तर बढाउन र बजार विस्तार गर्न ठूलो सहयोग पुगेको छ।
सुरुमा थोरै लगानी र सीमित साधनबाट थालेको यो व्यवसाय अहिले वार्षिक १५ देखि २० लाख रुपैयाँसम्म आम्दानी गर्ने अवस्थामा पुगेको छ। उत्पादन काठमाडौँका ठूला बजारसँगै भारत, युरोप र अमेरिकासम्म निर्यात हुने गरेको छ। गाउँमै उत्पादन भएर विदेशसम्म पुग्नु माइजोगमाईका लागि मात्र होइन, इलामकै लागि पनि गर्वको विषय बनेको छ।

तोया महतले सञ्चालन गरेको उद्योगमा हाल २५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। यसले गाउँका युवाहरूलाई विदेश जानुपर्ने बाध्यता कम गर्न महत्वपूर्ण भूमिका खेलेको छ। उहाँका अनुसार, धेरै कामदार पहिले रोजगारीको खोजीमा बाहिर जान चाहन्थे, तर अहिले आफ्नै गाउँमा काम पाउँदा उनीहरू उत्साहित छन्।
तोया महतको परिवारका छ जना सदस्य यही व्यवसायमा निर्भर छन्। पारिवारिक रूपमा सञ्चालन हुँदै आएको यस उद्योगले घरखर्च मात्र होइन, थप लगानी गर्ने आधारसमेत तयार गरेको छ।
दुग्ध व्यवसायको सुरुआत २२ वर्षअघि दैनिक करिब १०० लिटर दूध सङ्कलनबाट गर्नुभएकाे थियाे । निरन्तर मेहनत र किसानसँगको सहकार्यले आज सयौँ परिवार जोडिएको सञ्जाल निर्माण भएको छ। सुरुमा अनेक चुनौती भए पनि बजार सुनिश्चित गर्ने रणनीतिले व्यवसायलाई स्थायित्व दिएको उहाँ बताउनुहुन्छ ।
तोया महतले आफ्ना पशुका लागि मात्र नभई गाउँभरिका किसानलाई दाना र नेपियर घाँस उत्पादन गरेर उपलब्ध गराउँदै आउनुभएकाे छ । यसले पशुपालन गर्ने किसानहरूको खर्च घटेको छ भने दूध उत्पादन बढाउन प्रत्यक्ष सहयोग पुगेको छ। यही कारण माइजोगमाई गाउँपालिकाका करिब ४०० परिवार अहिले नियमित रूपमा दूध उत्पादन गरेर बजारमा बिक्री गर्न सक्ने अवस्थामा पुगेका छन्। स्थानीय सहकारी र सङ्कलन केन्द्रमार्फत दूधको उचित मूल्य पाइँदा किसानहरू थप उत्साहित भएका छन्।
स्थानीय तहका अनुसार यस क्षेत्रमा दुग्ध उत्पादन अहिले गाउँको मुख्य आम्दानी स्रोतहरूमध्ये एक बनेको छ। किसानहरूले घरखर्च धान्नुका साथै बालबालिकाको शिक्षा र स्वास्थ्यमा लगानी गर्न थालेका छन्। कतिपय परिवारले पशु सङ्ख्या बढाएका छन् भने केहीले आधुनिक गोठ निर्माण गरेर व्यवसाय विस्तार गरिरहेका छन्।
स्थानीय सरकारको सहयोग र समन्वयले गाउँमै उत्पादन भएका सामग्री अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सकिने सम्भावना खुलेको तोया महतको अनुभव छ। किसानले उत्पादन गरेको दूध र अन्य सामग्री बजारसम्म सहज रूपमा पुर्याउन स्थानीय तह, सहकारी संस्था र निजी क्षेत्रको सहकार्य महत्वपूर्ण भएको उहाँको भनाइ छ। युरोप र अमेरिकासम्म नेपाली उत्पादन पुग्नुले देशको अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुगेको उहाँ बताउनुहुन्छ ।
कोभिड–१९ महामारी र भूकम्पजस्ता विपद्का समयमा समेत किसानले दूध फाल्नुपर्ने अवस्था नआओस् भनेर आफूले सङ्कलन र बजार व्यवस्थापनलाई निरन्तरता दिएको तोया महत सम्झन्छन्। “सङ्कटको बेला किसानलाई सबैभन्दा ठूलो चिन्ता उत्पादन बिक्री नहुने हो,” उनी भन्छन्, “त्यसैले हामीले जुनसुकै अवस्थामा पनि बजार सुनिश्चित गर्ने प्रयास गर्यौँ।”
उहाँका अनुसार अहिले किसानको दूध उत्पादन क्रमशः बढ्दै गएको छ र अधिकांश किसान खुसी छन्। सडक सञ्जालका केही समस्या बाहेक यो क्षेत्रमा ठूलो अवरोध नरहेको उहाँ बताउनुहुन्छ । यदि पूर्वाधार अझ सुदृढ बने र सरकारी निकायबाट थप सहजीकरण भए पशुपालन र दुग्ध व्यवसाय अझै विस्तार गर्न सकिने उहाँको विश्वास छ।
माइजोगमाईका विभिन्न वडामा फैलिएको पशुपालन, दूध उत्पादन, दाना तथा घाँस व्यवस्थापनले अहिले ग्रामीण जीवनशैली नै परिवर्तन गरिरहेको छ। तोया महतको पहलले स्थानीय स्रोत–साधनको सदुपयोग गर्दै नेपालमै अवसर सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिएको छ। गाउँमै टिकेर मेहनत गरे सफलता सम्भव छ भन्ने उदाहरणका रूपमा उनको कथा धेरैका लागि प्रेरणा बनेको छ।








प्रतिक्रिया राख्नुहोस्