तपाईँ सुन्दै हुनुहुन्छः

तिलावे र भलुवाही खोलामा निर्माणाधीन पक्की पुल १७ वर्षदेखि अलपत्र 

बीरगंज  । पर्सा जिल्लाको जनतारोडमा पर्ने तिलावे खोला र भलुवाही खोलामा निर्माणाधीन दुई वटा पक्की पुल १७ वर्षदेखि अलपत्र अवस्थामा छन् । 

पर्सा क्षेत्र नं ३ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर –९ एकटाँगामा रहेको तिलावे खोलाको पुल १७ वर्षदेखि अलपत्र अवस्थामा छ । यो पुल निर्माणको लागि पप्पु कन्स्ट्रक्शनले साढे पाँच करोड रुपैयाँको लागतमा ठेक्का सकार गरेको थियो । तर निर्माण कार्य बीचैमा अलपत्र छाडिएको स्थानीय हृदयनारायण यादवले बताउनुभयो । 

पुल निर्माण सम्पन्न नहुँदा जनता रोड हुँदै आवतजावत गर्ने सवारीसाधन तथा यात्रुहरूले सास्ती खेप्दै आएका छन् ।  

यसैगरी, पर्सा क्षेत्र नं ३ कै पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ (सुगौली फरदवा) र क्षेत्र नं ४ को जीराभवानी गाउँपालिका वडा नम्बर ५ को बीचमा पर्ने भलुवाही खोलाको पुल समेत १५ वर्षदेखि अलपत्र रहेको छ ।

भलुवाही खोलामा अलपत्र परेको पुल निर्माण सम्पन्न भएमा जिल्लाको ठोरी, जिराभवानी, पटेर्वा सुगौली र सँखुवाप्रसौनी गाउँपालिकालाई एक अर्कासँग जोड्दै त्यस क्षेत्रमा आवागमन सहज हुने भएपनि डेढ दशकदेखि पुल अलपत्र बन्दा स्थानीय खोलाकै बाटो भएर आवतजावत गर्दै आएका छन् ।

पर्सा जिल्लाको भलुवाही खोलाको पुल हरेक पाँच वर्षमा हुने निर्वाचनमा नेताहरूलाई भजाउने कार्ड भएको स्थानीय भुवन पौडेलले बताउनुभयो । 

निर्वाचनमा पुल बनाइदिने प्रलोभन दिने तर जितेर गएपछि मतलब नि नगर्ने जनप्रतिनिधिको कारण आफूहरूले सास्ती भोग्नुपरेको उहाँको भनाई छ ।

२० मिटरको तीन वटा स्पान गरी कुल ६० मिटर लम्बाइको यो पुल निर्माण गर्न दुई करोड २२ लाख रुपैयाँमा वाईपी मोना जेभिले आर्थिक वर्ष २०६५÷६६ मा ठेक्का पाएको स्थानीय प्रकाश थारुले बताउनुभयो । 

आर्थिक वर्ष २०६५÷६६ मा सडक डिभिजन कार्यालय हेटौडासँग ठेक्का सम्झौता गरी सम्झौताको एक दशकपछि २०७५÷७६ सालमा निर्माण अन्तिम चरणमा पुगेको यो पुलको दुवै साइडको एप्रोच सडक सोही वर्ष खोलाले बगाएको थारुले जानकारी दिनुभयो । 

त्यस बेलादेखि यो पुल यसरी नै खोलाको बिचमा उभिएर सडक डिभिजन कार्यालय र ठेकदार दुबैलाई गिज्याइरहेको स्थानीयले बताउँछन् । 

जनता सडकको मुख्य मेरुदण्डको रुपमा रहेको तिलाबे र भलुवाही खोलाको पुल निर्माण अलपत्र हुँदा वर्षायाममा खोलामा बाढी आउँदा यस क्षेत्रका हजारौँ मानिसको आवागमन ठप्प हुने गर्दछ । 

स्थानीयका अनुसार बर्षायाममा एम्बुलेन्स समेत आउन नसक्दा बिरामीहरूले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था छ । कृषि उपज बजारसम्म पुर्‍याउन पुल नहुँदा ढुवानी खर्च दोब्बर हुने गरेको छ । 

विगतमा जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन र सांसदहरूलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि कसैले सुनुवाइ नगरेको स्थानीय बताउँछन् । 

हाल मतदानको समय नजिकिँदै गर्दा राजनीतिक दलका उम्मेदवारहरूले पर्साका अलपत्र यी दुई वटा पुल बनाइदिने आश्वासन दिँदै फेरी मतदाताको घरदैलोमा पुगेर भोट मागिरहेका छन् ।  तर स्थानीय मतदाताहरूले भने उम्मेदवारलाई झुटो आश्वासन नदिन चेतावनी दिएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button