तपाईँ सुन्दै हुनुहुन्छः

प्राविधिक तथा आर्थिक सहयोग महत्त्वपूर्ण छ : पूर्व राष्ट्रपति डा यादव

काठमाडौँ । पूर्व राष्ट्रपति डा रामवरण यादवले भारतले नेपाललाई गर्दै आएको प्राविधिक तथा आर्थिक सहयोग महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

भारतीय दूतावासले आज आयोजना गरेको ‘६१औँ भारतीय प्राविधिक तथा आर्थिक सहयोग दिवस’मा उहाँले नेपालको विकासमा भारतको योगदानको स्मरण गर्दै प्राविधिक तथा आर्थिक विकासमा पुर्‍याएको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको हो ।

“नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक रूपमा ऐतिहासिक सम्बन्ध रहेको छ”, पूर्व राष्ट्रपति डा यादवले भन्नुभयो, “स्वास्थ्य, भौतिक पूर्वाधारदेखि शिक्षा र प्राविधिक क्षेत्रमा पुर्‍याएको योगदान महत्त्वपूर्ण छ ।” नेपाल विकासमा उल्लेखनीय सहयोग गर्दै आएको भारत सरकारले आगामी दिनमा पनि सहकार्य प्रभावकारी रहने विश्वास व्यक्त गर्नुभयो । 

नेपालका लागि भारतीय राजदूत नभीन श्रीवास्तवले नेपालका विभिन्न क्षेत्रका सरकारी कर्मचारी, प्रहरी, नेपाली सेना, पत्रकारलगायतका ३५ हजारभन्दा धेरै मानिसले तालिम लिएको जानकारी दिनुभयो । सो अवसर तालिमको अनुभव साटासाट गर्नुका साथै विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button