तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा १८ हजार सुरक्षाकर्मी खटाइने

सुर्खेत । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णालीमा १८ हजार सुरक्षाकर्मी खटाउने तयारी भइरहेको छ । 

प्रदेशका दश जिल्लामा ९ सय ४१ मतदान स्थल र १ हजार ४ सय ३७ मतदान केन्द्र रहेका छन् । ती मतदान केन्द्रहरूको सुरक्षाका लागि १८ हजार ५ सय २८ जना सुरक्षाकर्मी खटाइने तयारी भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार नेपाल प्रहरी र निर्वाचन प्रहरीसहित १५ हजार ३ सय २८ प्रहरी खट्ने छन् । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तयारी अवस्थामा रहे पनि निर्वाचन प्रहरीको तालिम सञ्चालन भइरहेको छ । प्रदेश प्रहरीका सूचना अधिकारी (एसएसपी) रामप्रकाश शाहले प्रदेशभर अझै ३ सय ३९ प्रहरी अपुग भइरहेको बताउनु भयो । उहाँले ५ हजार ५ सय ८० जना नेपाल प्रहरी र ९ हजार ७ सय ४८ जना निर्वाचन प्रहरी खटाइने तयारी भएको जनाउनु भयो । उहाँका अनुसार कर्णालीका ४ सय ४१ मतदान केन्द्र अति संवेदनशील सूचीमा राखिएको छ । 

कर्णालीका १ हजार ४ सय ३७ मतदान केन्द्रमध्ये ३ सय १ सामान्य र ६ सय ५१ संवेदनशील सूचीमा छन् । यता सशस्त्र प्रहरी बलले भने निर्वाचन प्रहरीसहित ३ हजार २ सय प्रहरी खटाउन लागिएको जनाएको छ । सशस्त्र प्रहरी बलका अनुसार २ हजार २ सय सशस्त्र प्रहरी र १ हजार निर्वाचन प्रहरी खटाउने तयार गरिएको छ । 

यसपटक सबै मतदानस्थल सरकारी कार्यालयमा राख्ने तयारी गरिएको प्रहरीले जनाएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशभर १० लाख ३७ हजार २ सय ५० जना मतदाता रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button