तपाईँ सुन्दै हुनुहुन्छः

विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण र देशको रक्षा गर्ने विषयमा सचेत बन्नुपर्नेमा सांसदहरूको जोड 

काठमाडौँ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले पूर्वाधार विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण र देशको रक्षा गर्ने विषयमा सबै सचेत बन्नुपर्नेमा जोड दिनुभयो ।


सांसदहरूले सडक पूर्वाधार, विमानस्थल, सिँचाइ आयोजनाका राष्ट्रिय गौरवका आयोजना निर्माणमा ढिलाइ हुँदा आमनागरिकमा नैराश्यता बढेको भन्दै समयमा नै त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।

सांसदहरूले जेनजीले उठाएका सुशासन भ्रष्टाचार नियन्त्रणका विषय सही भए पनि २३ र २४ गतेको घटनाले त्यसको प्रयोग सही रूपमा हुन नसकेको भन्दै सरकारी, सार्वजनिक सम्पत्ति जलाइएको भन्दै देश जलाउने अधिकार कसैलाई पनि नरहेको बताउनुभयो ।

देशको राष्ट्रियता कमजोर भएको विषयमा सबै सचेत र संवेदनशील बन्न सक्नुपर्नेमा जोड दिँदै सांसदहरूले देशको अर्थतन्त्र कमजोर अवस्थामा रहेको र नेपाल ग्रे लिस्टमा रहेकाले यस विषयमा सबै गम्भीर बन्नुपर्नेमा  जोड दिनुभयो ।

सांसदहरूले विभिन्न नाममा राष्ट्रिय झन्डा दुरुपयोग गर्ने क्रम बढिरहेको भन्दै यसतर्फ समयमा नै ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।

राज्यले स्वरोजगारी, शिक्षामा समानता, ग्रामीण जीवन र शहरीय जीवनमा एकरूपता  कायम गर्ने, उत्पादन र वितरणमा वैज्ञानिक विधि अपनाउँदै लगानीलाई प्रोत्साहित गर्ने योजना बनाउन जरुरी रहेकोमा सांसदहरूले जोड दिनुभयो ।

निर्वाचन नजिएको अवस्थामा प्रचारमा देखिएको होडबाजी व्यवस्थाको विरुद्धमा रहेको र व्यक्ति हाबी गराउने काम भइरहे भन्दै सांसदहरूले समयमा नै सचेत बन्न सबैलाई आग्रह गर्नुभयो ।

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ र करिब ३४ जना घाइते भएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै घाइतेको उपचार र आवश्यक सहयोगको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

बैठकमा मायाप्रसाद शर्मा, आनन्दप्रसाद ढुङ्गाना, रुक्मिणी कोइराला, गङ्गा कुमारी वेल्वासे, जयन्तीदेवी राईले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । 

बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले प्रस्तुत गर्नुभएको समितिको राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन २०८२ माथिको छलफल  जारी रहेको छ । 

यसै गरी सामाजिक सञ्जाल विधेयक २०८१ सभाबाट फिर्ता गर्ने र  राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक २०८१ लाई सभाबाट पारित गर्ने सभाको कार्यसूची छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button