अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा सांसद र मन्त्रीबीच छलफल

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी विधेयकमा नीतिगत स्पष्टता कायम गर्दा शक्ति सन्तुलन र निगरानी प्रणाली सुदृढ हुने बताउनुभएको छ।
सिंहदरबारमा आज बसेको राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा मन्त्री सिन्हाले अभौतिक सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्न सिफारिस समितिलाई निर्णय लिने अधिकार समेत दिनेगरी नीतिगत स्पष्टताको आवश्यकता औँल्याउनुभयो।
अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक २०८१ माथिको छलफलमा सांसदहरूले सूचीकृत अभौतिक (अमूर्त) सांस्कृतिक सम्पदाको दुरुपयोग वा बेचबिखनको कार्य भएमा प्रचलित कानुनअनुसार दोषीलाई सजायको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसदहरूले नेपालको बहु सांस्कृतिक एकतामा असर नपर्ने गरी गल्ती गर्ने व्यक्तिलाई मात्र सामान्य सजाय दिने र सम्बन्धित व्यक्तिको समुदायलाई दोषी नदेखाउने गरी व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा सांसदहरूले सबै समुदायका परम्परागत कला, सीप, पहिरन, पोसाक र प्रविधिको संरक्षणमा आवश्यक बजेटको व्यवस्था गर्न अपरिहार्य रहेको बताउनुभयो ।
समितिका सभापति तुलसा कुमारी दाहालले विधेयक अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि ल्याइएको भन्दै दण्ड–सजायको व्यवस्था उक्त विधेयकमा उपयुक्त नहुने धारणा राख्नुभयो ।
विधेयकको आजको छलफल पछि विधेयक माथिको दफावार छलफल सकिएको छ ।








प्रतिक्रिया राख्नुहोस्