भोटभन्दा पहिचान ठूलो: लिखित वाचा खोज्दै सोनाहा समुदाय
बाँके। अल्पसङ्ख्यक सोनाहा समुदायले आफूहरूलाई जनजातिमा सूचीकृत गर्नुपर्ने माग वर्षौँदेखि उठाउँदै आए पनि राज्यको बेवास्ता भइरहेपछि समुदायमा गहिरो निराशा छाएको छ।

प्रत्येक निर्वाचनमा उम्मेदवारहरूले आश्वासन दिने तर माग सम्बोधन नहुने परिपाटी दोहोरिएपछि यसपटक लिखित प्रतिबद्धता गर्नेलाई मात्रै मत दिने उनीहरूले स्पष्ट पारेका छन्।
बर्दिया–२ अन्तर्गत राजापुर नगरपालिका–१ मा बसोबास गर्दै आएका सोनाहा समुदायका सदस्यहरू भोट माग्न आउने उम्मेदवारसँग गाँस, बास, कपास वा रोजगारीको तत्काल माग नगरी आफूहरूलाई आदिवासी जनजातिको सूचीमा समावेश गरिदिन आग्रह गर्दै आएका छन्। तर, पटक–पटक माग राख्दा पनि सुनुवाइ नभएपछि समुदायमा असन्तुष्टि बढ्दै गएको छ।
सोनाहा विकास समाजका अगुवा बलबहादुर सोनाहाका अनुसार निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूबाट फेरि आश्वासन बाँड्ने क्रम सुरु भएको छ। तर विगतका अनुभवले समुदायको विश्वास कमजोर बनाएको उहाँले बताउनुभयो।
“वर्षौँदेखि हामीले जनजातिमा सूचीकृत गर्न दबाब दिँदै आएका छौँ, तर कसैले पनि ठोस पहल गरेको देखिएन,”उहाँले भन्नुभयो, “निर्वाचनका बेला मात्रै बस्तीमा आउने र वाचा गर्ने प्रवृत्तिले हामी निराश भएका छौँ।”

पुर्ख्यौली पेसा सङ्कटमा परेपछि समुदाय थप समस्यामा परेको छ। कर्णाली नदी तटमा बसोबास गर्ने सोनाहा जातिको मुख्य पेसा माछा मार्ने, डुङ्गा चलाउने र नदीबाट सुन बटुल्ने हो। तर समयसँगै वातावरणीय तथा नीतिगत प्रतिबन्धका कारण परम्परागत पेसा सङ्कटमा परेको समुदायका सदस्यहरू बताउँछन्।
समुदायका अगुवा शान्ति सोनाहाले हरेक चुनावमा उम्मेदवारले माग सम्बोधन गर्ने वाचा गरे पनि निर्वाचित भएपछि फर्केर बस्तीमा नआउने गरेको आरोप लगाउनुभयो“अब त उम्मेदवारले गर्ने वाचामा विश्वास गर्नै गाह्रो भएको छ,” उहाँले भन्नुभयो“यसपटक हामीले स्पष्ट रूपमा लिखित वाचा गरेमात्रै भोट दिने निर्णय गरेका छौँ।”
सशस्त्र द्वन्द्वको समयमा सोनाहा समुदायले थप पीडा भोग्नुपरेको थियो। राज्य र विद्रोही पक्षबाट भएको प्रताडनाका कारण समुदायका धेरै पुरुष भारत पलायन भएका थिए। अहिले पनि रोजगारीको खोजीमा काठमाडौँ तथा भारतका विभिन्न सहरमा जानुपर्ने बाध्यता कायम रहेको स्थानीयहरू बताउँछन्।

यसपटक सोनाहा समुदायले सरकारसँग आफूहरूलाई अन्य सूचिबाट हटाएर आदिवासी जनजातिमा समेट्नुपर्ने, मुक्त कमैया सरह सुविधा उपलब्ध गराउनुपर्ने र निकुञ्ज क्षेत्रमा परम्परागत रूपमा माछा मार्न पाउने व्यवस्था गर्नुपर्ने माग राखेका छन्। साथै, रोजगारीको अवसर, निःशुल्क शिक्षा र स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने उनीहरूको जोड छ। समुदायले आफ्नो सांस्कृतिक पहिचानसँग जोडिएको बडघरिया प्रथालाई राज्यले मान्यता दिनुपर्ने माग समेत अघि सारेको छ।
सोनाहा जातिको इतिहास र पहिचानबारे स्थानीय तहमा समेत पर्याप्त जानकारी छैन। स्थानीयका अनुसार सोनाहा समुदाय दैलेखको राकम क्षेत्रबाट बसाइँ सरेर बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्दै आएको मानिन्छ। उनीहरूले बोल्ने भाषा खाम हो भने नाग पञ्चमीलाई ‘गुडिया पर्व’ का रूपमा मनाउने परम्परा रहेको छ।
तथ्यांकअनुसार बर्दिया, कैलाली र कञ्चनपुरमा सोनाहा समुदायको कुल जनसङ्ख्या करिब १ हजार २ सय रहेको छ। तीमध्ये बर्दियामा मात्रै ७ सय २९ जना बसोबास गर्दै आएका छन्। लामो समयदेखि उठाइँदै आएको माग अझै सम्बोधन नभएपछि यसपटक सोनाहा समुदायले आफ्नो पहिचान र अधिकारको मुद्दालाई निर्वाचनको मुख्य आधार बनाउने सङ्केत दिएको छ।








प्रतिक्रिया राख्नुहोस्