चुनौतीका बाबजुद नथाकेकी लुम्बिनी प्रदेशकै एकमात्र महिला मेयर

नवलपरासी, पश्चिम । लुम्बिनी प्रदेशको सुनवल नगरपालिकाकी नगरप्रमुख बिमला अर्याल चुनौतीबीच पनि सक्रिय र परिणाममुखी नेतृत्वका कारण छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ । उहाँ लुम्बिनी प्रदेशकै एकमात्र महिला मेयर हुनुहुन्छ, जसले स्थानीय तहमा महिला नेतृत्वको क्षमता र सम्भावनालाई स्थापित गरिरहनुभएको छ।
सामान्यतया औपचारिक कार्यक्रममा सीमित हुने नगरप्रमुखभन्दा फरक शैलीमा अर्याल विकास निर्माणका कामलाई गति दिन निरन्तर फिल्डमै सक्रिय रहँदै आइरहनुभएको छ । अधुरा आयोजना सम्पन्न गर्न र नयाँ योजना अघि बढाउन उहाँ संघीय मन्त्रालय, विभाग र सम्बन्धित निकायसँग निरन्तर समन्वयमा जुटिरहनुहुन्छ ।
उहाँको राजनीतिक यात्रा समाजसेवाबाट सुरु भएको हो। महिला सशक्तीकरण, शिक्षा, स्वास्थ्य र विपन्न वर्गको सहयोगमा लामो समय सक्रिय रहेकी उहाँ जनतामाझ त्यही योगदानका कारण लोकप्रिय बन्नुभएको हो।
उहाँका निकटस्थहरूका अनुसार अर्याल चुनाव जितेर मात्र नगर नेतृत्वमा पुग्नुभएको होइन, उहाँले वर्षौंदेखि जनतासँग जोडिएर काम गर्दै आइरहनुभएको छ। यही जनविश्वासलाई निरन्तरता दिन उहाँ अझ बढी मेहनत गररिहनुभएको छ।
तर उहाँको यात्रा सहज भने छैन। सीमित बजेट, स्रोत–साधनको अभाव, संघीय तहबाट हुने ढिलाइ र कहिलेकाहीँ राजनीतिक चुनौतीले काममा असर पारे पनि उहाँले सक्रियता घटाउनुभएको छैन। कर्मचारी व्यवस्थापन र योजनाको पारदर्शितामा उहाँ कडाइका साथ प्रस्तुत हुने गरेको बताइन्छ।
नगर विकासका लागि उहाँले सडक, खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य, कृषि र स्वरोजगारलाई प्राथमिकतामा राख्नुभएको छ । साथै विद्यालय निर्माण, अभिभावकविहीन बालबालिकाका लागि सुविधा विस्तार र आयुर्वेद सेवाको विस्तार पनि योजनामा समेटिएको छ।
उहाँको भनाइमा विकास सबै नगरबासीको साझा आवश्यकता हो र जनताको विश्वासलाई परिणामबाट प्रमाणित गर्नुपर्ने हुन्छ। उहाँ भन्नुहुन्छ “महिलाले नेतृत्व गर्न सक्दैनन् भन्ने सोचलाई कामले नै बदल्नुपर्छ।”
जनतासँग प्रत्यक्ष संवाद, वडा–वडामा नियमित अनुगमन र समस्या सुन्ने अभ्यासले उनीप्रति जनविश्वास बढ्दै गएको छ। लुम्बिनी प्रदेशकै एकमात्र महिला मेयरका रूपमा उहाँको सक्रियताले स्थानीय तहमा महिला नेतृत्वको दायरा विस्तार हुने अपेक्षा गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्