तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा अनुदानको मल लुकाएर बेच्ने एग्रोभेटबाट ३२ बोरा मल बरामद

उदयपुर I उदयपुरको त्रियुगा नगरपालिकामा किसानका लागि अनुदानमा उपलब्ध गराइएको रासायनिक मल कालोबजारीमा बिक्री भइरहेको ‍पाइएकाे छ ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बुधबार त्रियुगा नगरपालिकाको मदन भण्डारी राजमार्गअन्तर्गत गैरुन, राजाबास र चुहाडे क्षेत्रका होटल, पसल तथा बजारमा गरिएको अनुगमनका क्रममा त्रियुगा नगरपालिका–९ राजाबासस्थित खार्पाली एग्रो एण्ड सप्लायर्समा लुकाएर राखिएको अवस्थामा अनुदानको मल फेला परेको हो।

अनुगमन टोलीले सहकारीमार्फत वितरण गर्नुपर्ने मल कालोबजारीका लागि राखिएको पुष्टि गर्दै १५ बोरा युरिया, १० बोरा डीएपी र ७ बोरा पोटास गरी जम्मा ३२ बोरा मल नियन्त्रणमा लिएको छ।

अनुगमन टोलीका प्रमुख तथा सहायक प्रमुख जिल्ला अधिकारी विक्रम पाण्डेयका अनुसार अनधिकृत रूपमा रासायनिक मल बिक्री भइरहेको देखिएपछि उक्त मल नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि त्रियुगा नगरपालिकामा पठाइएको छ। उहाँले किसानलाई लक्षित अनुदान सामग्री कालोबजारी गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याइने पनि स्पष्ट पार्नुभयो।

किसानहरू मल अभावका कारण समस्यामा परिरहेका बेला अनुदानकै मल यसरी कालोबजारीमा बिक्री हुन थालेपछि स्थानीय स्तरमा तीव्र असन्तोष देखिएको छ। स्थानीय किसानहरूले निष्पक्ष छानबिन, दोषी पहिचान र कडा कारबाहीको माग समेत गरेका छन्।

यसैबीच, सोही अनुगमनका क्रममा तेल मिल, खाद्यान्न पसल, होटल, किराना तथा एग्रोभेट पसल गरी १३ वटा व्यवसाय जाँच गरिएकोमा ६ वटालाई सचेत गराइएको छ। केही व्यवसायीले दर्ता नवीकरण नगरी व्यवसाय सञ्चालन गरेको पाइएको छ भने म्याद गुज्रिएका खाद्य सामग्रीसमेत फेला परेपछि नष्ट गरिएको जनाइएको छ।

प्रशासनले किसान लक्षित सामग्रीमा हुने कालोबजारी नियन्त्रणका लागि कडाइका साथ अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button