हालसम्म ६० निर्वाचन क्षेत्रका ७२ लाख ६० हजार मतपत्र छपाई कार्य सम्पन्न

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि प्रत्यक्ष तर्फको हालसम्म ६० निर्वाचन क्षेत्रका लागि ७२ लाख ६० हजार मतपत्र छपाई कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनको लागि प्रत्यक्षतर्फ कूल २ करोड ३ लाख २३ हजार मतपत्र छपाई हुने निर्वाचन आयोगका सहायक प्रवक्ता कुल बहादुर जिसीले जानकारी दिनुभयो ।
मतपत्र छपाईको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रबाट मतपत्र छपाई कार्य भइरहेको छ । २५ जिल्लाको लागि भने छपाई कार्य सम्पन्न भई प्याकिङ समेत भइसकेको आयोगका सहायक प्रवक्ता जिसीले जानकारी दिनुभयो । उच्च हिमाली, हिमाली र दुर्गम क्षेत्रलाई उच्च प्राथमिकता दिई मतपत्र छपाई कार्य गरिएको जानकारी दिनुहुँदै उहाँले ढुवानी कार्यपनि सोही बमोजिम नै गरिने बताउनुभयो ।
डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी गरी जम्मा २५ जिल्लाको छपाई भई प्याकिङ सम्पन्न भइसकेको सहायक प्रवक्ता जिसीले बताउनुभयो ।
सडक यातायातको सहज पहुँच भएका जिल्लामा ट्रक तथा कन्टेनरको माध्यमबाट मतपत्र ढुवानी गरिने जानकारी दिनुहुँदै सहायक प्रवक्ता जिसीले यातायात मार्फत मतपत्र पुर्याउन कठिन हुने जिल्लामा हेलिकप्टरको माध्यमबाट समेत मतपत्र ढुवानी गर्नको लागि सम्बन्धित निकायसँग आवश्यक छलफल भइरहेको बताउनुभयो ।
निर्वाचनमा मतपत्र बदर हुनबाट रोक्नको लागि आयोगले तयार पारेका नमूना मतपत्रलाई मतदाताको घर–घरमा पुर्याइ मतदाता शिक्षा कार्यक्रम गरिने सहायक प्रवक्ता जिसीले जानकारी दिनुभयो ।
जसको लागि आगामी फागुन ३ गते सबै प्रदेशमा स्वयम् सेवकलाई मतदाता शिक्षा सम्बन्धी अभिमुखीकरण तालिम दिइने र त्यसपछि उहाँहरूलाई मतदाताको घर–घरमा पठाइने उहाँले जानकारी दिनुभयो ।
मतदाता शिक्षाको लागि स्थानीय स्वास्थ्य स्वयंसेविका, बाल विकास सहजकर्ता, सामुदायिक अध्ययन केन्द्र«का परिचालक र मातृ शिशु कार्यकर्ता लाई प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयले नियुक्त गर्ने साथै अनुभवीलाई प्राथमिकता दिइने समेत सहायक प्रवक्ता जिसीले जानकारी दिनुभयो ।
निर्वाचन सामग्री उत्पादन र प्रचार प्रसारको लागि सार्वजनिक सेवा प्रसारण संस्थाहरू रेडियो नेपाल र नेपाल टेलिभिजन त्यस्तै राष्ट्रिय समाचार समिति (रासस), प्रेस काउन्सिल र गोरखापत्रसँग सम्झौता गरिएको पनि सहायक प्रवक्ता जिसीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्