इलाममा एचपिभि खोप अभियान आगामी माघ २५ गतेदेखि
इलाम । इलाममा एचपिभि खोप अभियान आगामी माघ २५ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ ।
जिल्लामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभि खोप लगाउने लक्षित समूह २ हजार १४३ जना रहेको स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।
उमेर समूहका कोही पनि नछुटुन् भन्ने उद्देश्यसहित स्वास्थ्य कार्यालय इलामले सरोकारवालासँग विभिन्न चरणमा अभिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ । यसै क्रममा कार्यालयले बिहीबार पत्रकारसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ ।
जिल्लाका १० पालिकाका शिक्षा तथा स्वास्थ्य शाखाका प्रमुख एवं प्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको स्वास्थ्य कार्यालय इलामका खोप निरीक्षक गंगाधर पण्डितले बताउनुभयो ।
अभियान अन्तर्गत विद्यालय तथा स्वास्थ्य संस्थामार्फत खोप प्रदान गरिने छ। जिल्लामा ३ सय ३९ खोप केन्द्र निर्धारण गरिएको छ । खोप अभियान कार्यक्रममा ३ सय ३९ जना स्वयंसेवक परिचालन गरिएको छ भने १ सय १६ जना अनुगमनकर्ता तोकिएको कार्यालयले जनाएको छ ।
विगतका अभियान सफलतापूर्वक सम्पन्न भएकाले यस वर्ष पनि उच्च सहभागिता हुने अपेक्षा रहेको स्वास्थ्य कार्यालय इलामका खोप निरीक्षक गंगाधर पण्डितले बताउनुभयो ।
आर्थिक वर्ष २०८१÷०८२ मा इलाम जिल्लामा एचपिभि खोप अभियानमा ९ हजार ६ सय ८९ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा बढी ९ हजार ६ सय ९८ जनाले खोप लगाएको स्वास्थ्य कार्यालयको तथ्याङ्क रहेको छ ।
एचपिभि खोप पाठेघरको मुखको क्यान्सर गराउने भाइरसबाट बचाउन लगाइने खोप हो । पाठेघरको मुखको क्यान्सर महिलामा देखिने प्रमुख क्यान्सरहरू मध्ये एक हो । एचपीभी खोप समयमै लगाएर धेरै हदसम्म क्यान्सर रोक्न सकिने चिकित्सकहरू बताउँछन् । यो खोप मुख्यतः १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लगाइन्छ । यौन सम्पर्क सुरु हुनु अघि लगाइएमा खोप अझ प्रभावकारी हुने चिकित्सकहरूको भनाई छ । एचपिभि खोप सुरक्षित, प्रभावकारी र विश्व स्वास्थ्य सङ्गठन (डब्लु एच ओ )ले सिफारिस गरेको खोप हो । यसले भविष्यमा पाठेघरको मुखको क्यान्सरको जोखिम उल्लेख्य रूपमा घटाउने विश्वास गरिएको छ ।
स्वास्थ्य कार्यालय इलामले सरोकारवालाहरूलाई खोप अभियानमा सहयोग गर्न अनुरोध समेत गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्