तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँको योजना दिगो विकास केन्द्रित हुनुपर्छ : मन्त्री चौलागाईं

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधवप्रसाद चौलागाईंले काठमाडौँ सहरको योजना बनाउँदा यसको ऐतिहासिक, सांस्कृतिक र पारिस्थितिक विशेषतालाई विस्तृत रूपमा अध्ययन गरी दिगो विकास केन्द्रित बनाउनुपर्नेमा जोड दिनुभएको छ ।  

आज काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली गुरुयोजनामाथि सरोकार भएका निकाहरूबीच भएको गोष्ठीमा उहाँले जीवन्त र सांस्कृतिक महत्त्व बोकेको काठमाडौँ उपत्यकाको लागि दिगो, सुरक्षित र समावेशी यातायातको आवश्यकता रहेको उल्लेख गर्नुभयो । 

मन्त्री चौलागाईंले काठमाडौँ अन्य नयाँ सहरजस्तो नभएकाले यहाँ एउटै ढाँचाको योजना लागू गर्न नसकिने धारणा राख्नुभयो । उहाँले काठमाडौँ शताब्दीऔँ पुराना परम्परा, संस्कृति र आधुनिकताको सुन्दर सम्मिश्रणका रूपमा स्थापित सहर हो भन्नुभयो । 

“काठमाडौँ एउटा ऐतिहासिक सहर हो । यहाँ इतिहास र आफ्नै परम्परा छ, पारिस्थितिक प्रणाली र विविध जीवनशैलीको सङ्गम छ”, उहाँले भन्नुभयो, “सहरको योजना बनाउँदा यही आत्मा र सूक्ष्मता योजनामा प्रतिबिम्बित हुनुपर्छ ।”

मन्त्री चौलागाईले आधुनिक र प्राविधिक समाधान अपनाउँदा पनि सांस्कृतिक सम्पदा, ऐतिहासिक स्थल र ‘जनताको सहर’ भन्ने अवधारणा जोगाउनुपर्नेमा जोड दिनुभयो । सरकारको लक्ष्य सवारी केन्द्रितभन्दा मानव केन्द्रित सहर निर्माण गर्ने रहेको उहाँको भनाइ छ ।

मन्त्री चौलागाईंले योजना निर्माणका क्रममा मन्त्रालय र सरोकार भएका निकायका प्रतिनिधिबीच समन्वय नहुँदा कार्यान्वयनको चरणमा द्वन्द्व उत्पन्न हुन सक्ने समस्या औँल्याउनुभयो । “योजनाकार, इञ्जिनियर र संरक्षणविद्बीच संवाद हुँदैन”, उहाँले भन्नुभयो, “त्यसैले प्रभावकारी योजना कार्यान्वयनका लागि सुरुदेखि सबै सरोकार भएका निकायबीच समन्वय आवश्यक छ ।”

नयाँ सरकार गठनपछि करिब दुई महिनादेखि सक्रिय रूपमा काम भइरहेको उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगलाई राष्ट्रिय हितमा प्रभावकारी रूपमा प्रयोग गर्दै लग्नुपर्ने आवश्यक औँल्याउनुभयो । यस सन्दर्भमा मन्त्री चौलागाईंले नेपाल–जापान सहकार्य बहुआयामिक र दीर्घकालीन रहेको उल्लेख गर्नुभयो । 

नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ मनाइँदै गरेको स्मरण गर्दै मन्त्री चौलागाईंले जापानबाट प्रविधि, विचार र विशेषज्ञता प्राप्त भइरहेको बताउनुभयो । “यो सहकार्य एकतर्फी होइन, ज्ञान र अनुभवको आदानप्रदान हो”, उहाँले भन्नुभयो । 

उहाँले रणनीतिक वातावरणीय मूल्याङ्कन (एसइए)सम्बन्धी पहल भविष्यका योजनाका लागि मार्गदर्शक बन्ने विश्वास व्यक्त गर्नुभयो । प्रक्रियालाई अनावश्यक रूपमा जटिल नबनाउन आग्रह गर्दै उहाँले प्रक्रिया सरल, स्पष्ट र व्यवहारमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री चौलागाईंले एउटै नीति सबैका लागि उपयुक्त नहुने भन्दै लक्षित र सन्दर्भअनुसारका रणनीति आवश्यक रहेको बताउनुभयो । “काठमाडौँमा बनाइएको नीति जस्ताको तस्तै देशभर लागू गर्दा अधिकांश योजना असफल भएका छन्”, उहाँले भन्नुभयो, “भूगोल, संस्कृति र जीवनशैलीअनुसार फरक योजना भएमा समाधान सम्भव हुन्छ ।”

मन्त्री चौलागाईंले स्थानीय ज्ञान र अभ्यासलाई नीति निर्माणमा समेट्नुपर्नेमा जोड दिनुभयो । “विविधतालाई समाधानको आधारका रूपमा बुझ्न सके मात्र न्यायपूर्ण र दिगो विकास सम्भव हुन्छ”, उहाँले भन्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button