तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन आयोग नेपाल र टिकटकबिच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नको लागि निर्वाचन आयोग र टिकटकका एसिया क्षेत्रका प्रमुख अधिकारीहरूबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराई र टिकटकका तर्फबाट Head of Government Relations and Public policy फेर्दोस अल मत्ताकिनले आयोगमा आज आयोजित एक कार्यक्रमबिच समझदारी पत्र आदान प्रदान गर्नुभएको हो ।

सो अवसरमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आसन्न निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नको लागि टिकटकले देखाएको तदारुकता प्रति नेपाल सरकार ,आयोग र सम्पूर्ण नेपाली नागरिकको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।

टिकटकमा आउने झुटा प्रवृत्तिका सूचनाहरू समयमै नियन्त्रण गरी स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नमा सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेकामा टिकटकप्रति आभार समेत व्यक्त गर्नुभयो ।

समझदारी पत्र अनुसार टिकटकले आसन्न प्रतिनिधि सभा निर्वाचनको स्वच्छता प्रवर्द्धन तथा आयोगको क्षमता अभिवृद्धिको प्रयासमा सहकार्य गर्नेछ ।

कार्यक्रममा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी,निर्वाचन आयुक्त द्वय डा जानकी कुमारी तुलाधर र सगुन शमशेर ज ब रा तथा आयोगका सचिव कृष्ण बहादुर राउत लगायत वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

समझदारीले निर्वाचनलाई असर पार्न सक्ने भ्रामक सूचना तथा हानिकारक सामग्रीको नियन्त्रणमा सहयोग पुग्ने निर्वाचन आयोगको विश्वास छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button