तपाईँ सुन्दै हुनुहुन्छः

बुढीगंगा नगरपालिकाका कर्मचारी निलम्बनमा परेपछि सेवा प्रवाह ठप्प

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा अधिकांश कर्मचारी निलम्बनमा परेपछि सेवा प्रवाह गम्भीर रूपमा प्रभावित भएको छ । नगरपालिकाको प्रशासनिक भवन निर्माणको ठेक्कासम्बन्धी भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगर प्रमुखसहित कर्मचारीविरुद्ध मुद्दा दर्ता गरेपछि र नयाँ कर्मचारीको व्यवस्था नभएकाले पालिकाको नियमित कामकाज ठप्प जस्तै बनेको हो ।

अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेसँगै हाल नगरपालिकामा कार्यरत ७ जना कर्मचारी स्वतः निलम्बनमा परेका छन् । निलम्बनमा पर्नेमा तत्कालीन अधिकृत छैटौँ नरेन्द्र नाथ, सब–इन्जिनियर गणेशराज रेग्मी, खरिदार श्यामबहादुर खत्री, शिक्षा अधिकृत जयराज न्यौपाने, असिस्टेन्ट सब–इन्जिनियर भिमराज गिरी, नायब प्राविधिक सहायक सिद्धराज जैसी र प्रशासन सहायक वसन्तबहादुर थापा रहनुभएको छ । कानुनी व्यवस्थाअनुसार अख्तियारबाट विशेष अदालतमा मुद्दा दायर भएपछि आरोपित कर्मचारी स्वतः निलम्बनमा पर्ने प्रावधान छ ।

कर्मचारी निलम्बनमा परेपछि नगरपालिकाको शिक्षा, प्रशासन र प्राविधिक शाखाका सेवा बन्द भएका छन् । नगर प्रमुख रामबहादुर बानियाँका अनुसार यसले सर्वसाधारणलाई दैनिक सेवा लिन कठिनाइ भएको छ । “केही कर्मचारी निलम्बनमा परे, यसै वर्षबाट करार कर्मचारीको म्याद नथप्ने निर्णय गर्‍यौँ, त्यसको असर अहिले देखिएको छ ।कर्मचारी अभावका कारण विकास निर्माणका कामसमेत रोकिन गएका छन् नगर प्रमुख बानियाँले भन्नुभयो।

त्यसैगरी, पछिल्लो एक महिनादेखि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत समेत नहुँदा समस्या झनै जटिल बनेको छ । कर्मचारी र नेतृत्व दुवैको अभाव हुँदा सेवा प्रवाह पूर्ण रूपमा ठप्पजस्तै अवस्थामा पुगेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button