झापा गोल्डकपको खेल तालिका सार्वजनिक
झापा । झापाको विर्तामोड– स्थित डोमालाल राजवंशी रङ्गशालामा आयोजना हुन लागेको सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक झापा गोल्डकपले आज खेल तालिका सार्वजनिक गरेको हो ।

माघ २४ गतेदेखि हुने प्रतियोगिताको खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजकको टिम झापा ११ फुटबल क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । त्यस्तै, माघ २५ गते त्रिभुवन आर्मी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको पहिलो क्वार्टर फाइनल खेल माघ २६ गते उद्घाटन खेलको विजेता र सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबबिच हुनेछ । दोस्रो क्वार्टर फाइनल खेल माघ २७ गते दोस्रो दिनको विजेता र पोखराको लालीगुराँस एसोसिएसनबिच हुनेछ ।
तेस्रो क्वार्टर फाइनल खेलमा माघ २८ गते एपीएफ फुटबल क्लब र भुटानको रोयल थिम्पु कलेजले प्रतिस्पर्धा गर्नेछन् भने अन्तिम क्वार्टर फाइनल खेल माघ २९ गते मच्छिन्द्र फुटबल क्लब र मलेसियाको एन पेनाङ फुटबल क्लबबिच हुने महासचिव बुद्ध तामाङले बताउनु भयो ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल फागुन १ गते र दोस्रो सेमिफाइनल खेल फागुन २ गते हुनेछ । फाइनल खेल फागुन ४ गते हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १५ लाख रुपैयाँ र ट्रफी पाउने कोषाध्यक्ष चन्द्रमणि कट्टेलले जानकारी दिए । त्यस्तै, उपविजेताले सात लाख ५० हजार रुपैयाँ पाउनेछ ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २५ हजार रुपैयाँ पाउनेछ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई यामाहाको एक थान मोटरसाइकल प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, प्रशिक्षक र उच्च गोलकर्ताले नगद ३५ हजार रुपैयाँ पाउनेछ ।
प्रतियोगिताको मुख्य प्रयोजक एग्रो थाई फुड्स प्रालिको उत्पादन एक्स्ट्रिम इनर्जी ड्रिंग्स रहेको अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्