हिमाली बस्ती गुम्बा : मतदान केन्द्र छ, मतदाता छैनन्
बाजुरा । बाजुराको हिमाली गाउँपालिका–३ गुम्बा गाउँमा रहेको मतदान केन्द्रमा जम्मा ७३ जना मतदाता सूचीकृत छन् । तर, तीमध्ये अधिकांश मतदाता हिउँदको समयमा चिसो छल्न बेसीतिर बसाइँ सर्ने गरेकाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा धेरै मतदाता मतदानबाट बञ्चित हुने जोखिम बढेको छ ।

स्थानीय जगतबहादुर लामाका अनुसार गुम्बा गाउँका धेरै परिवार मङ्सिर महिनादेखि नै भेडा–बाख्रासहित मौसमी बसाइँ सर्दै आएका छन् । चिसो अत्यधिक हुने भएकाले अधिकांश परिवार बाजुराको तल्लो भेग, अछाम, डोटी र बझाङमा बसाइँ सर्ने गरेका हुन् । हाल गाउँमा केही बुढापाका र बालबालिका मात्र रहेका छन् ।
समुद्री सतहबाट करिब २७ सय मिटर उचाइमा रहेको गुम्बा गाउँ भौगोलिक रूपमा निकै विकट क्षेत्रमा पर्दछ । यहाँ २०७४ सालमा मतदान केन्द्र स्थापना गरिएको थियो । त्यसबेला मात्र २८ जना मतदाता रहेकामा हाल सङ्ख्या बढेर ७३ पुगेको हो । गुम्बाका २५ परिवार र लाम्पाटा गाउँका १२ परिवारलाई लक्षित गरी यो मतदान केन्द्र स्थापना गरिएको हो ।

हाल गुम्बा गाउँमा १७ जना मतदाता मात्र रहेको स्थानीय छिरिङ धोर्जे लामाले बताउनुभयो। उहाँका अनुसार धेरैजसो स्थानीय भेडा बाख्रा लिएर अछाम, डोटी लगायत क्षेत्रमा गएकाले हाल गुम्बामा वृद्धवृद्धा मात्र रहेका छन्।
हिउँदमा चिसो र हिमपातका कारण मौसमी बसाइँ सर्ने बाध्यताले गुम्बा जस्ता हिमाली बस्तीका मतदाताको मताधिकार चुनौतीपूर्ण बनेको स्थानीयको गुनासो छ ।






प्रतिक्रिया राख्नुहोस्