गण्डकी प्रदेशका तीन सय २८ मतदानस्थल अति संवेदनशील
कास्की। फागुन २१ गते हुने आम निर्वाचनका लागी गण्डकी प्रदेशका १८ वटै निर्वाचन क्षेत्रका १ हजार २ सय ९७ मतदानस्थल मध्ये ३ सय २८ वटालाई अति संवेदनशील सूचीमा राखिएको छ।
अति संवेदनशील सूचीमा रहेका मतदान स्थलहरूमा विशेष सुरक्षा व्यवस्था गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी तुलबहादुर कार्कीले जानकारी दिनुभयो ।
प्रहरीले मतदानस्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन तहमा वर्गीकरण गरी सुरक्षाकर्मी परिचालन गर्ने छ ।एक मात्र निर्वाचन क्षेत्र रहेका मुस्ताङ र मनाङ तुलनात्मक रूपमा कम जोखिमपूर्ण देखिएका छन् । सूचना अधिकारी तुलबहादुर कार्कीका अनुसार मुस्ताङका ३९ मतदानस्थलमध्ये कुनै पनि अति संवेदनशील छैनन् । त्यहाँ १० संवेदनशील र २९ सामान्य स्थल छन् । मनाङमा भने २८ मतदानस्थलमध्ये ५ अति संवेदनशील, १५ संवेदनशील र २३ सामान्य रहेका छन् ।
प्रहरी तथ्यांकअनुसार गोर्खा जिल्ला सबैभन्दा चुनौतीपूर्ण देखिएको छ । भौगोलिक रूपमा विकट गोर्खामा दुई निर्वाचन क्षेत्र छन् । ती दुई क्षेत्रमा रहेका २ सय २५ मतदानस्थलमध्ये ८३ वटा अति संवेदनशील, १ सय ३१ संवेदनशील र ११ वटा सामान्य छन् ।
लमजुङमा १ सय ३० मतदानस्थलमध्ये ३० अति संवेदनशील, ७७ संवेदनशील र २३ सामान्य छन् । दुई निर्वाचन क्षेत्र रहेको तनहुँमा ८ अति संवेदनशील, ५२ संवेदनशील र ८४ सामान्य मतदानस्थल छन् । यस्तै, स्याङ्जामा १ सय १४ मतदानस्थल मध्ये ११, नवलपुरमा १ सय १४ मध्ये ११, म्याग्दीका ८२ मध्ये १५, बागलुङका १ सय ७ मध्ये २९ र पर्वतका ७६ मध्ये ३५ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ ।
कास्कीमारहेका १ सय ५३ मतदान स्थलमध्ये ५६ वटा अति संवेदनशील छन् । तीन निर्वाचन क्षेत्रमध्ये कास्की क्षेत्र नम्बर ३ सबैभन्दा चुनौतीपूर्ण देखिएको छ । यस क्षेत्रमा ३० मतदानस्थल अति संवेदनशील सूचीमा छन् । यहाँ १८ संवेदनशील र ११ सामान्य मतदानस्थल छन् ।
अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाका केही दुर्गम वडामा विगतमा चुनावी प्रचारप्रसार र मतदानका क्रममा विवाद भएको प्रहरी तथ्याङ्क छ । भौगोलिक विकटता र तत्काल सुरक्षाकर्मी पुग्न कठिन हुने अवस्थाका कारण क्षेत्र नम्बर ३ लाई उच्च जोखिममा राखिएको हो । क्षेत्र नम्बर १ मा १९ अति संवेदनशील, २८ संवेदनशील र १४ सामान्य मतदान स्थल छन् । विगतमा यस क्षेत्रमा बम राखिएको हल्लाले मतदातालाई त्रसित बनाएको घटनासमेत भएका थिए । क्षेत्र नम्बर २ भने तुलनात्मक रूपमा कम जोखिमपूर्ण मानिएको छ । त्यहाँ ७ अति संवेदनशील, ८ संवेदनशील र १८ सामान्य मतदानस्थल छन् । समग्रमा कास्कीमा ५६ अति संवेदनशील, ५४ संवेदनशील र ४३ सामान्य मतदानस्थल पहिचान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
जोखिम मूल्याङ्कनका आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, म्यादी प्रहरी र नेपाली सेनाको परिचालन गरिनेछ । भित्री घेरामा नेपाल प्रहरी र म्यादी प्रहरीले मतदाताको लाइन व्यवस्थापन गर्नेछन् । बिचको घेरामा सशस्त्र प्रहरीले सुरक्षा दिनेछ भने बाहिरी घेरामा नेपाली सेनाले गस्ती गर्नेछ । मतदान केन्द्रमा मोबाइल गस्ती र रिजर्भ फोर्ससमेत परिचालन गरिनेछ । ‘विगतका निर्वाचनका घटना, भौगोलिक अवस्था र राजनीतिक प्रतिस्पर्धालाई आधार मानेर जोखिम वर्गीकरण गरिएको प्रहरीले जनाएको छ ।
मतदानलाई शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष बनाउन मुठभेड, बुथ कब्जा र मृतक वा बिदेसिएका व्यक्तिको नाममा हुनसक्ने फर्जी मतदान कडाइकासाथ रोक्ने तयारी प्रहरीको रहेकाे छ । ‘







प्रतिक्रिया राख्नुहोस्