प्रतिभा सुपर लिग क्रिकेट : सोमबारका खेलमा मदरल्याण्ड र छोरेपाटन विजयी
पोखरा । पोखराको मदरल्याण्ड मावि र छोरेपाटन माविले पोखरामा जारी प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेका छन् । प्रतिभा माविद्वारा आयोजित प्रतियोगिताको दोस्रो दिन सोमबार मदरल्याण्ड सेकेण्डरीले जनप्रिय मावि र छोरेपाटन माविले कुमुदिनी होम्सलाई पराजित गर्दै विजयी यात्रा शुरु गरेका हुन् ।
प्रतियोगिता अन्तर्गत सोमबारको पहिलो खेलमा छोरेपाटनले कुमुदिनी होम्स माविलाई ४८ रनले पराजित गर्यो । टस जितेर कुमुदिनी होम्सले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको छोरेपाटनले १९.३ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनायो । छोरेपाटनका लागि प्रदीप थापाले २३ रन, अनिश थापाले १५ रन र उज्ज्वल पौडेलले १५ रनको योगदान दिँदा कुमुदिनीका लकी गुप्ताले ३ विकेट, सुधिर साहले ३ विकेट लिनुभयो ।
१२४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको कुमुदिनी होम्स १७.४ ओभरमा सबै विकेट गुमाएर ७५ रनमा समेटियो । छोरेपाटनका बलरहरू सामु कुमुदिनीका व्याटर निरीह देखिए । कुमुदिनीका लागि विद्वान देवकोटाले १२ रन र सञ्जीत कुँवरले ९ रन बनाउनुभयो । सो खेलमा छोरेपाटनका अनिश थापा प्लेयर अफ द म्याच घोषित हुनुभयो ।

सोमबारको दोस्रो खेलमा मदरल्याण्ड माविले जनप्रिय माविलाई ८१ रनले पराजित गर्यो । टस जितेर जनप्रियले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको मदरल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रनको योगफल तयार गर्यो । मदरल्याण्डका लागि सक्षम विकले २६ रन र सुभम गिरीले २३ रनको योगदान दिँदा जनप्रियका सम्राट क्षेत्रीले २ विकेट तथा कृष्ण ढकालले २ विकेट लिनुभयो ।
१३० रनको लक्ष्य पछ्याएको जनप्रियले जवाफी ब्याटिङ गर्दै १२.३ ओभरमा सबै विकेट गुमाएर ४८ रन मात्र बनाएपछि पहिलो खेलमै पराजय बेहोर्यो । जनप्रियका सन्देश स्याङ्तानले ११ रन बनाउँदा मदरल्याण्डका विलोभ मल्लले ५ विकेट तथा भुवन भण्डारीले २ विकेट लिनुभयो ।
सो खेलमा मदरल्याण्डका ५ विकेटधारी विलोभ मल्ल प्लेयर अफ द म्याच घोषित हुनुभयो ।
प्रतियोगिता अन्तर्गत मङ्गलवारको पहिलो खेलमा डायमन्डविरुद्ध बाल मन्दिर र नेपाल भारत मैत्री विद्यालयविरुद्ध वाराही मावि प्रतिस्पर्धामा उत्रिने प्रतिभा माविका प्राचार्य किरण सापकोटाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्