तपाईँ सुन्दै हुनुहुन्छः

बङ्गलादेश साफ महिला यु–१९ च्याम्पियनसिपको फाइनलमा 

पोखरा । भारतलाई पराजित गर्दै बङ्गलादेश साफ महिला यु–१९ च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । पोखरा रङ्गशालामा सोमबार सम्पन्न खेलमा बङ्गलादेशले भारतलाई २–० ले हराउँदै लगातार दोस्रो जित निकालेको हो । यस जितसँगै बङ्गलादेशले २ खेलबाट ६ अंक जोड्दै फाइनल यात्रा सुनिश्चित गरेको छ ।

यसअघि बङ्गलादेशले आफ्नो पहिलो खेलमा भुटानलाई १२–० को फराकिलो अन्तरले पराजित गरेको थियो । बङ्गलादेश प्रतियोगितामा अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ ।

सोमबार नै भएको अर्को खेलमा घरेलु टोली नेपालले भुटानलाई २–१ ले पराजित गर्दै फाइनल प्रवेशको सम्भावना कायम राखेको छ । नेपालको यो प्रतियोगितामा पहिलो जित हो । यसअघि नेपाल पहिलो खेलमा भारतसँग १–० ले पराजित भएको थियो ।

जितसँगै नेपाल अंक तालिकामा भारतलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । नेपाल र भारत दुवैको समान २ खेलबाट ३–३ अंक भए पनि गोल अन्तरमा नेपाल अगाडि छ । नेपालको गोल अन्तर शून्य रहेको छ भने भारतको गोल अन्तर १ रहेको छ ।

अब नेपालले आफ्नो अन्तिम समूह खेल बुधबार बङ्गलादेशसँग खेल्नेछ भने भुटानले भारतसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणपछि अंक तालिकाका शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन् ।

नेपालले बङ्गलादेश विरुद्ध जित वा सकारात्मक नतिजा निकाल्न सके फाइनल प्रवेश गर्ने सम्भावना अझ बलियो हुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button