‘राष्ट्रिय उत्पादकत्व वृद्धि गर्ने जनशक्ति विद्यालय तहबाटै तयारी गरिनु पर्छ’
सुर्खेत । प्राविधिक तथा व्यावसायिक सीपयुक्त जनशक्ति उत्पादन गरी श्रम बजारमा सहज प्रवेश गराउन सुर्खेतको वीरेन्द्रनगरमा छलफल शुरु भएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशले क्वालिटी परियोजनाको सहयोगमा आज वीरेन्द्रनगरमा आयोजना गरेको ‘ओजीटी योजना निर्माण सम्बन्धि अभिमुखीकरण’ कार्यक्रममा प्राविधिक तथा व्यावसायिक शिक्षालाई गुणात्मकता वृद्धि गर्दै श्रम बजारको मागमा आधारित बनाउन जोड दिइएको हो ।
छलफलमा शैक्षिक उत्पादनको गुणात्मकता वृद्धिका लागि विभिन्न निकायहरूको भूमिका तथा जिम्मेवारी तय गरी व्यावहारिक अभ्याससहितको कार्यक्रमलाई प्रभावकारी बनाउन सुझाव दिइएको छ ।
तरकारी, फलफूल तथा पशुपालन जस्ता मिश्रित क्षेत्रमा आधुनिक तथा स्थानीय कृषि प्रविधिको प्रयोगमा जोड दिन कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको क्वालिटी परियोजनाका प्राविधिक संयोजक यामबहादुर बस्नेतले सुझाव दिनुभयो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) कर्णाली प्रदेशका क्वालिटी फोकल पर्सन ध्रुवप्रसाद रेग्मीले जीवनोपयोगी रोजगारीमूलक सीपयुक्त शिक्षालाई सहजरुपमा भरपर्दो पहुँचको आधार बनाउनुपर्नेमा जोड दिनुभयो ।
सामाजिक विकास मन्त्रालयका अधिकृत बलवीर सुनारले राष्ट्रिय उत्पादकत्व वृद्धि गर्न सहयोग पुग्ने सीपयुक्त जनशक्ति विद्यालय तहबाटै तयारी गर्न आवश्यक रहेको औँल्याउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेश सदस्य पूर्णदेव अधिकारी, नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशका कार्यकारी निर्देशक महेशकेशर खनाल, नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेश अन्तर्गतको सीप विकास इकाईका कार्यक्रम संयोजक हृदयेश केसीसँगै कर्णाली प्रदेश भरी सञ्चालित प्राविधिक तथा व्यावसायिक शिक्षालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्