तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रत्यक्षतर्फ आजसम्म ३० लाख मतपत्र छापियो

काठमाडौँ । निर्वाचन आयोगले हालसम्म पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ २५ जिल्लाका ३० लाख मतपत्र छपाई सम्पन्न भएको जानकारी गराएको छ ।

निर्वाचन आयोगमा आज भएको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइको काम सकिएको जनाकारी गराउनुभयो । 

उहाँले मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई  सय थान नमुना मतपत्र छपाइको काम सकिएको जानकारी गराउँदै कार्यतालिका भित्रै रहेर आयोगले काम सम्पन्न गरिरहेको बताउनुभयो ।

निर्वाचन आयोगले आचार संहिता उल्लङ्घन सम्बन्धी प्राप्त २१ वटा उजुरी सम्बन्धमा राजनीतिक दल र सम्बन्धित व्यक्तिलाई स्पष्टीकरण सोधिएकोमा हालसम्म १२ वटाको जवाफ आइसकेको र बाँकी रहेका उजुरीमा कार्यदलले अध्ययन गरिरहेको जनाएको छ । 

निर्वाचन आचारसंहिता पालना नभएको विषयमा आम नागरिकले आफू भएकै स्थानबाट गुनासो गर्न सक्ने गरी ecn.coc@electoin.gov.np को व्यवस्था गरेको र उजुरी कर्ताको नाम गोप्य राखी आवश्यक कारबाही अगाडी बढाइने आयोगले जनाएको छ । 

आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाई कार्यान्वयन सुनिश्चितताका लागि ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचारसंहिता अनुगमन अधिकृत तोकेर सक्रियता पूर्वक काम गरिरहेको आयोगले जनाएको छ ।

यसैगरी आयोगले यही माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको कल सेन्टरमा हालसम्म एक हजार ६ सय ७७ वटा जिज्ञासा तथा प्रश्न प्राप्त भएका छन् । तीमध्ये सबैभन्दा बढी मतदाता नामावली सम्बन्धी ९ सय ६ वटा, निर्वाचन आचारसंहिता सम्बन्धी एक सय ३५ वटा, मतदाता शिक्षा सम्बन्धी ६१ वटा र अन्य ५ सय ७५ वटा रहेको आयोगले जनाएको छ ।   

आयोगका सचिवको संयोजकत्व गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, नेपाल राष्ट्रिय अनुसन्धान विभागलगायतका निकायको प्रतिनिधित्व रहने गरी  आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चलनमा ल्याएको छ ।

केन्द्रले जिल्ला तथा निर्वाचन क्षेत्र स्तरबाट प्राप्त सूचना विश्लेषण गर्ने र समस्या पहिचान गरी समाधानका लागि सहजीकरण गरिरहेको र यो कार्य निर्वाचन सम्पन्न नहुँदासम्म जारी रहने आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो  । 

पत्रकारहरूको जिज्ञासामा आयोगका प्रवक्ता भट्टराईले मतदाता शिक्षाका लागि घरदैलो कार्यक्रमको तयारी गरिरहेको र कार्यतालिका अनुसार तोकिएकै समयमा घरदैलो कार्यक्रम पनि सम्पन्न गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button