तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश सभाका ८ वर्षः कानुन बने, कार्यान्वयन र विधायकी भूमिकामाथि प्रश्न

मकवानपुर I संघीय संरचनाको महत्वपूर्ण अभ्यासका रूपमा रहेको बागमती प्रदेश सभा स्थापना भएको आज आठ वर्ष पूरा भएको छ । 

२०७४ माघ १८ गते पहिलो अधिवेशन सुरु गरेको प्रदेश सभाले कानुन निर्माणमा सक्रियता देखाए पनि बनेका कानुनको कार्यान्वयन, संसदमा हुने छलफलको गुणस्तर र विधायकी भूमिकाको प्रभावकारितामाथि गम्भीर प्रश्न उठ्न थालेका छन् ।

प्रदेश सरकार सञ्चालनका लागि आवश्यक ठानिएका ९९ कानुनमध्ये हालसम्म प्रदेश सभाबाट ९० वटा विधेयक पारित भएका छन् । तीमध्ये ८९ वटा कानुन प्रदेश राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा पुगेका छन् । प्रदेश चिठ्ठा सम्बन्धी एक विधेयक भने संसदबाट पारित भएर पनि प्रदेश प्रमुखबाट प्रमाणीकरण नपाउँदा कार्यान्वयनमा जान सकेको छैन । उक्त विधेयक हाल पुनः प्रदेश सभामै विचाराधीन अवस्थामा छ । यसबाहेक तीन वटा विधेयक सभा, समिति र सचिवालय तहमा छलफलको चरणमा रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । 

प्रदेश सभा सचिवालयले कानुन निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहसँग छलफल, विषयगत समितिका सदस्यका लागि तालिम तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । तर पनि प्रदेशका कानुन कार्यान्वयनको अवस्था सन्तोषजनक भने छैन । 

स्थापनाको पहिलो कार्यकालमा तुलनात्मक रूपमा जिम्मेवार र जबाफदेही देखिएको प्रदेश सभा दोस्रो कार्यकालमा आइपुग्दा विधायकी भूमिकामा कमजोर देखिन थालेको छ । सांसदहरूको ध्यान कानुन निर्माणभन्दा विकासे योजना र बजेट वितरणमा बढी केन्द्रित भएको आलोचना बढ्दै गएको छ । संसदमा पेस भएका विधेयकहरूमाथि दलगत छलफल र सांसदहरूको व्यक्तिगत चासोसमेत घट्दै गएको पाइन्छ ।

प्रदेश सभाले आठौँ वार्षिकोत्सव मनाई रहँदा यसबीचमा नीतिगत चुनौतीसँगै प्रदेश सभाले गम्भीर भौतिक क्षति पनि व्यहोर्नुपरेको छ । २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड हुँदा प्रदेश सभा संरचनामा ३२ करोड ५४ लाख ५७ हजार रुपैयाँ बराबरको क्षति भएको सचिवालयले जनाएको छ । आफ्नै भवन प्रयोग गर्न नसक्दा हाल हेटौँडा उपमहानगरपालिकाको परिसरमा रहेको हलमा अस्थायी रूपमा प्रदेश सभाका बैठक सञ्चालनको तयारी भइरहेको छ । हललाई सामान्य मर्मत गरी टेबल, कुर्सी, माइक र आवश्यक इलेकट्रोनिक्स सामग्री जडान गरेर सभा सञ्चालन गरिएको उपसभामुख अप्सरा चापागाईँले जानकारी दिनुभयो । 

सुरुआतमा ११० सदस्यीय रहेको प्रदेश सभामा प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन ६ जना सांसदले राजीनामा दिएपछि हाल सदस्य सङ्ख्या १०४ कायम छ । विभिन्न चुनौतीबीच प्रदेश सभाले आज आफ्नो आठौँ वार्षिकोत्सव विशेष कार्यक्रमसहित मनाउँदैछ । जलेको भवन परिसरमै वार्षिकोत्सव कार्यक्रम आयोजना गरी ‘प्रदेश सभा दर्पण’ विमोचन, गर्ने तयारी गरेको छ । आठ वर्षको अवधिमा कानुन निर्माणलाई उपलब्धिका रूपमा लिइए पनि ती कानुन नागरिक जीवनमा कत्तिको प्रभावकारी बने भन्ने प्रश्न भने अझै उत्तर खोजिरहेकै अवस्थामा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button