बाजुरामा चुनावी सरगर्मी तीव्र, चोक–चौतारामा मतदाताका प्रश्न
बाजुरा। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाजुरामा चुनावी सरगर्मी बढ्दै गएको छ।

निर्वाचन मिति नजिकिँदै जाँदा जिल्लाका उम्मेदवारहरू अहिले मतदाता भेटघाट तथा घरदैलो अभियानमा व्यस्त रहेका छन्। गाउँ–बस्ती, टोल–टोल र चोक–चौतारामा उम्मेदवार तथा उनका समर्थकहरू पुगेर मत मागिरहेका छन् ।
घरदैलोका क्रममा उम्मेदवारहरूले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, रोजगारी तथा समग्र विकासका प्रतिबद्धता दोहोर्याइरहेका छन् । तर, यस पटक मतदाताको प्रतिक्रिया अघिल्ला निर्वाचनभन्दा केही फरक देखिएको छ । विगतमा पटक–पटक सुनिएका आश्वासनहरू कार्यान्वयन नहुँदा मतदाता नेताका गफभन्दा काम खोजिरहेको अवस्था देखिन्छ ।

स्थानीय मतदाताहरूले नेताहरूले हरेक चुनावमा उस्तै कुरा दोहोर्याउने तर चुनाव सकिएपछि गाउँ फर्केर नआउने गुनासो गर्दै आएका छन् । “नेताका गफ बढी सुन्न पाइयो, तर काम केही देखिएन,” बुढिनन्दा नगरपालिका-७ का स्थानीय गबदे ल्वारले भन्नुभयो । “यस पटक भाषणभन्दा काम गर्ने उम्मेदवार चाहिएको उहाँको भनाइ छ ।”घरदैलो अभियानका क्रममा कतिपय स्थानमा मतदाताले उम्मेदवारसँग सीधै प्रश्न सोध्ने र पुराना योजना किन पूरा भएनन् भनेर जवाफ माग्ने गरेका छन् । यसले मतदातामा बढ्दो राजनीतिक चेतना र उत्तरदायित्व खोज्ने प्रवृत्ति देखाएको छ ।

उम्मेदवारहरू भने जनताको विश्वास जित्न आफूहरू फरक भएको दाबी गर्दै आएका छन् । उहाँहरूले विगतका कमजोरी सुधार गर्दै विकास र सुशासनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाइरहेका छन् । तर, मतदाता भने आश्वासनलाई सजिलै पत्याउने अवस्थामा छैनन् । बाजुरामा यस पटक एकजना स्वतन्त्र सहित जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलबाट ८ जना उम्मेदवार मैदानमा रहेका छन्।








प्रतिक्रिया राख्नुहोस्