तपाईँ सुन्दै हुनुहुन्छः

बदलिएको काँग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको छ: सभापति थापा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले बदलिएको काँग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको बताउनुभएको छ ।

नेपाली काँग्रेस काठमाडौँ क्षेत्र न-४ ले आज यहाँ  आयोजना गरेको निर्वाचन परिचालन मूल समिति घोषणा समारोहलाई सम्बोधन गर्दै उहाँले देश बदल्नका लागि काँग्रेस बदलिएको बताउनुभयो । “समयक्रमसँगै काँग्रेस नयाँ काम, सोच र सङ्कल्पका साथ अगाडि बढेको छ, काँग्रेसभित्र नेताभन्दा कार्यकर्तालाई बलियो बनाउने अभियान सुरु भएको छ”, सभापति थापाले भन्नुभयो ।

आगामी दिनमा टिकट लिन नेताको घरमा चाहर्ने प्रवृत्तिको अन्त्य हुने गरी कार्यकर्तालाई बलियो बनाउन लागिएको  उहाँको भनाइ थियो । लोकतन्त्र र सामाजिक न्यायको बारेमा काँग्रेसले कसैसँग सम्झौता नगर्ने सभापति थापाले बताउनुभयो ।

उहाँले आम नागरिकको चाहना सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाओस् भन्ने रहेको बताउँदै बदलिएको काँग्रेसले आम नागरिकको चाहनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सभापति थापाले विशेष महाधिवेशनले पार्टीभित्र गुट र भागबन्डाको राजनीति अन्त्य गरेको बताउनुभयो । उहाँले युवाहरूको आवाजलाई काँग्रेसले सुनेर अगाडि बढेको बताउनुभयो । काँग्रेससँग सुधारको एजेन्डा र सबैलाई जोड्ने ताकत रहेको उहाँको भनाइ थियो ।

उहाँले युवाले देशभित्रै रोजगारीको अवसर दिन काँग्रेस लाग्ने बताउनुभयो । सभापति थापाले पार्टीभित्र आफूलाई अहिलेको उचाइमा पुर्‍याउन काठमाडौँ क्षेत्र नं ४ का कार्यकर्ता र आम मतदाताले खेलेको भूमिकाको उच्च सम्मान गर्नुभयो ।

“मलाई तपाईँहरूले लगाएको गुन जीवनभर तिर्न सक्दिन, दुःखको बेलाका साथी र अभिभावक तपाईँहरू हो, नेपाली काँग्रेस र अन्य पार्टीमा रहेर मलाई भोट हाल्ने मतदाताको सहयोगका कारण म यस क्षेत्रबाट तीन पटक निर्वाचित भएँ, यसको श्रेय तपाईँहरू आम क्षेत्र नं ४ वासीलाई जान्छ,” उहाँले भन्नुभयो ।

सभापति थापाले मधेसलाई काठमाडौँसँग जोड्न र मधेसको मुद्दा बुझ्नका लागि आफूले सर्लाही क्षेत्र नं ४ बाट उम्मेदवारी दिएको बताउनुभयो ।

काँग्रेस काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवार सचिन तिमल्सिनाले काठमाडौँ क्षेत्र नं ४ को विकासका लागि आफू निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जेनजी आन्दोलनपछि बदलिएको काँग्रेसले आफूलाई विश्वास गरेर उम्मेदवार बनाएको बताउँदै जितको लागि आम क्षेत्र नं ४ वासीको साथ र सहयोगको अपेक्षा गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button