बाँकेमा ६ महिनामा ५२ जना क्षयरोगी फेला
बाँके। बाँकेको खजुरा गाउँपालिकामा पछिल्लो छ महिनामा ५२ जना क्षयरोगी फेला परेका छन् ।
खजुरा गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार फेला परेका सबै क्षयरोगीलाई शाखाअन्तर्गतका स्वास्थ्य संस्थामार्फत निःशुल्क उपचार सेवा प्रदान गरिँदै आएको छ ।
स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी ओलीका अनुसार सबैभन्दा बढी वडा नम्बर ८ मा १४ जना क्षयरोगी फेला परेका छन् । अर्धवार्षिक समीक्षा तथा कोहोर्ट विश्लेषण कार्यक्रममा सार्वजनिक तथ्यांकअनुसार वडा नम्बर १ र ६ मा क्षयरोगी शून्य छन् । वडा नम्बर २ मा ६ जना, वडा नम्बर ३ मा १२ जना, वडा नम्बर ४ र ५ मा समान ५–५ जना तथा वडा नम्बर ७ मा १० जना क्षयरोगी फेला परेका छन् ।
सामाजिक विकास संयोजक कृष्णा पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले क्षयरोग अत्यन्तै सरुवा रोग भएकाले समयमै पहिचान र उपचार आवश्यक रहेको बताउनुभयो । उहाँले एक जना क्षयरोगीबाट १० देखि १५ जनासम्ममा रोग सर्न सक्ने जोखिम रहने भएकाले समुदायस्तरमै सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो ।
स्वास्थ्य शाखाले लामो समयसम्म खोकी लागेमा बेवास्ता नगरी तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउन, औषधि पूरा अवधि नियमित सेवन गर्न र उपचार अधुरो नछाड्न आग्रह गरेको छ ।
यसैगरी भीडभाडमा मास्क प्रयोग गर्ने, घरभित्र पर्याप्त हावा–प्रवाहको व्यवस्था मिलाउने, पोषणयुक्त खाना खाने तथा संक्रमित व्यक्तिसँग सम्पर्क गर्दा सावधानी अपनाउन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् ।
क्षयरोग लुकाएर बस्नुपर्ने रोग नभएकाले लक्षण देखिएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा गई निःशुल्क जाँच तथा उपचार सेवा लिन स्वास्थ्य शाखाले सबैलाई अनुरोध गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्