नारदमुनि गोल्डकप : डिफेन्डिङ च्याम्पियन साल्हेश युवा क्लबको शानदार जित
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ४ बसाहामा जारी ११औँ संस्करणको नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वार्टर फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन साल्हेश युवा क्लब सिराहाले दमक फुटबल एकेडेमी झापालाई फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ ।

शुक्रबार सम्पन्न खेलमा साल्हेश युवा क्लबले दमक फुटबल एकेडेमीलाई ४–१ गोल अन्तरले हराउँदै आफ्नो वर्चस्व कायम राखेको हो ।
खेलको सुरुवातमै साल्हेशले आक्रामक प्रदर्शन गर्दै पहिलो मिनेटमै अग्रता लिएको थियो । जर्सी नम्बर १० का बिकी चाम्लिङ राईले उत्कृष्ट गोल गर्दै टिमलाई सुरुवाती सफलता दिलाएका थिए । त्यसपछि १८औँ मिनेटमा जर्सी नम्बर १५ का विदेशी खेलाडी पेपेले गोल गर्दै अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा पनि साल्हेशको दबाब कायमै रह्यो । खेलको ५०औँ मिनेटमा जर्सी नम्बर ११ का सुनिल खड्काले तेस्रो गोल थपे भने ५७औँ मिनेटमा जर्सी नम्बर ९ का राजेश दाहालले चौथो गोल गर्दै जित सुनिश्चित गरे ।
दमक फुटबल एकेडेमीका तर्फबाट पहिलो हाफको २३औँ मिनेटमा जर्सी नम्बर १६ का किस्मत लिम्बुले सान्त्वना गोल गरे पनि अन्य प्रयासहरू सफल हुन सकेनन् । खेलभरि दमकका खेलाडीहरूको अधिकांश प्रयास विफल हुँदा टोली ४–१ को फराकिलो हार बेहोर्न बाध्य भयो ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका साल्हेश युवा क्लबका जर्सी नम्बर १२ का असिम राई ‘म्यान अफ द म्याच’ घोषित भए । यस जितसँगै डिफेन्डिङ च्याम्पियन साल्हेश युवा क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत शनिबार त्रियुगा स्पोट्र्स क्लब सप्तरी र नेपाल खेलकुद क्लब रौतहटबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्