सुदूरपश्चिम प्रदेश : चुनावी सरगर्मी बढ्दै
सुदूरपश्चिम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा चुनावी सरगर्मी बढेको छ । राजनैतिक दलका र स्वतन्त्र उम्मेदवारले आन्तरिक बैठक तथा भेला गरेर चुनावी रणनीतिसहित प्रचारप्रसार थालेसँगै चुनावी चहलपहल बढेको हो ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टीलगायत ठूला दलका प्रत्याशी पार्टीको पुरानो विरासत जोगाउन रणनीति बनाएर प्रचारप्रसारमा होमिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीलगायत दलका प्रत्याशी र स्वतन्त्र प्रत्याशीहरूले चुनाव केन्द्रित गतिविधिमा सक्रियता बढाएका छन् ।
धेरै प्रत्याशीले सामाजिक सञ्जालको प्रयोग गरेर मतदातालाई रिझाउने आशयका सामग्रीको प्रयोग बढाएको देखिन्छ । कतिपय दलका उम्मेदवारले घरदैलो अभियान सुरु गरिसकेका छन् । निर्वाचन प्रचारप्रसारमा होमिएका कतिपय उम्मेदवारले सामाजिक सञ्जालमार्फत जथाभाबी प्रचारप्रसार सामग्रीको प्रयोग बढाउँदा मतदातामा अन्योल देखिएको स्थानीयको भनाइ छ ।
स्थानीय चेतराज ओझाले भन्नुभयो, “सामाजिक सञ्जालको जथाभाबी प्रयोग गर्ने प्रवृत्ति बढ्दा मतदातामा सही सूचना प्रवाह भइरहेको छैन, यस्तो प्रवृत्तिलाई नियमन गर्न जरुरी छ, अनि मात्र स्वच्छ, निष्पक्ष निर्वाचन हुन्छ ।”
जेनजीको आन्दोलनपछिको राजनीतिक परिवेशमा हुन लागेको निर्वाचनको प्रचारप्रसार शैली भने फेरिएको छ । उम्मेदवारहरूले सूचना प्रविधिका विभिन्न माध्यमलाई मुख्य प्रचार सामग्री बनाएका छन् । पूरै कार्यकाल पूरा नगरी बीचमै हुन लागेको यो निर्वाचनलाई लिएर कतिपय मतदाता निराश देखिन्छन् । धनगढीका मतदाता भोजराज पाण्डेयले भन्नुभयो, “अस्थिरता देखिनुमा दलहरू बढी जिम्मेवार देखिन्छन्, यसले गर्दा जनतामा निराशा छ, तर पनि निर्वाचनलाई सम्पन्न गरेर अस्थिरता टार्न दलहरूकै बढी जिम्मेवार हुनुपर्छ ।”
सुदूरपश्चिम प्रदेशमा डडेलधुरा, कैलाली निर्वाचन क्षेत्र ४ र ५, अछाम क्षेत्र–१ कञ्चनपुर २ र ३ लाई बढी चासोका साथ हेरिएको छ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विसं २०४८ देखि २०७९ सम्म भएका निर्वाचनमा विजयी हुँदै आएको डडेल्लधुरा क्षेत्र सर्वाधिक चासोको केन्द्र बनेको छ ।
यो निर्वाचनमा देउवा चुनावी प्रतिस्पर्धी हुनुहुन्न । देउवा प्रत्याशी नहुँदा कांग्रेसको विरासत जोगाउन चुनौती थपिएको छ । यहाँ काँग्रेसले युवा नेता एवं नेविसङ्घका पूर्वकेन्द्रीय अध्यक्ष नैनसिंह महरलाई चुनावी मैदानमा उतारेको छ ।
सो क्षेत्रमा रास्वपाका डा तारा जोशी, नेकपा (एमाले) का चक्रप्रसाद स्नेही, नेपाली कम्युनिष्ट पार्टीका मानसिंह माल, राप्रपाका गोविन्द खडायत, राष्ट्रिय जनमोर्चाका चन्द्रदेव विक, आम जनता पार्टीका खडकबहादुर ठकुराठी, श्रम संस्कृति पार्टीका महेन्द्र पुनमगरलगायत १३ जना प्रतिस्पर्धी हुनुहुन्छ ।
निवर्तमान गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखक विजयी हुँदै आएको कञ्चनपुर–३ मा आउने चुनावमा काँग्रेसले पूर्वपार्टी सभापति हरि बोहरालाई प्रत्याशी बनाएको छ । लेखक प्रत्याशी नहुँदा सो क्षेत्रमा मतदातामा चासो बढेको हो । सो क्षेत्रमा नेकपा (एमाले) का दीपकप्रकाश भट्ट, नेपाली कम्युनिष्ट पार्टीका मानबहादुर सुनार, रास्वपाका ज्ञानेन्द्रसिंह महतासहित १७ जना प्रत्याशी हुनुहुन्छ ।
कञ्चनपुर–२ मा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री एनपी साउद प्रत्याशी हुनुहुन्छ । तीन वर्षअघिको चुनावमा विजयी हुनुभएका साउदसँग नेकपा (एमाले) का युवा नेता बचनबहादुर सिंह, नेपाली कम्युनिष्ट पार्टीका माधवप्रसाद पन्त, रास्वपाका दीपकराज बोहरा, राप्रपाका तीर्थराज चटौतसहित १९ जनाले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । कैलाली क्षेत्र–४ मा नेकपा (एमाले) का उपमहासचिव एवं पूर्वमन्त्री लेखराज भट्ट प्रत्याशी हुँदा चासो देखिएको हो ।
अघिल्लो निर्वाचनमा कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलाएर विजयी भएको यो क्षेत्रमा आउने चुनावमा उहाँ प्रत्याशी हुनुहुन्न । काँग्रेसले आनन्द विष्टलाई प्रत्याशी बनाएको छ । यो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीले हरिराम चौधरी, रास्वपाले खेमराज कोइराला, राप्रपाले कमल रजवार, राष्ट्रिय जनमोर्चाका हेमराज भट्टलगायत १६ प्रतिस्पर्धी हुनुहुन्छ ।
अछाम–१ मा नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावल प्रत्याशी हुनुहुन्छ । उहाँसँग नेपाली कांग्रेसका भरतकुमार स्वाँर, नेकपा (एमाले) का दीपकबहादुर साउद, रास्वपाका ओमप्रकाश रावललगायत उम्मेदवार प्रतिस्पर्धामा रहनुभएको छ । सो क्षेत्रमा यसअघिको निर्वाचनमा तत्कालीन नेकपा (एकीकृत समाजवादी) का शेरबहादुर कुँवर विजयी हुनुभएको थियो ।
प्रदेशको राजधानी सहर धनगढी कैलाली निर्वाचन क्षेत्र–५० मा अघिल्लो निर्वाचनमा विजयी कांग्रेसका डिल्लीराज पन्त अहिले प्रतिस्पर्धी हुनुहुन्न । काँग्रेसले यो क्षेत्रमा युवा नेता एवं प्रदेशका महामन्त्री नरनारायण शाहलाई प्रत्याशी बनाएको छ । नेकपा (एमाले) का जिल्ला अध्यक्ष यज्ञराज ढुङ्गाना, नेपाली कम्युनिष्ट पार्टीका प्रेमबहादुर आले, रास्वपाका आनन्दबहादुर चन्द, उज्यालो नेपाल पार्टीका चन्द्र साउदसहित १५ जना प्रतिस्पर्धामा हुनुहुन्छ । पूर्वमन्त्रीसमेत रहनुभएका आले यसअघिको निर्वाचनमा डोटीबाट तत्कालीन नेकपा (एकीकृत समाजवादी) का तर्फबाट विजयी हुनुभएको थियो ।
कैलाली क्षेत्र–५ (धनगढी) सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका र प्रमुख व्यापारिक केन्द्र भएकाले यो क्षेत्रको चुनावप्रति बढी चासो बढेको हो । प्रतिनिधिसभातर्फ १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा राजनीतिक दलका र स्वतन्त्र गरी २०६ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । रासस








प्रतिक्रिया राख्नुहोस्