टाइगर कप भलिबल : उपाधिका लागि गण्डकी र पर्वत भलिबल सङ्घबिच प्रतिस्पर्धा हुने
पोखरा । छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप पुरुषतर्फको उपाधिका लागि गण्डकी प्रदेश भलिबल संघ र पर्वत जिल्ला भलिबल सङ्घबिच शनिबार फाइनल खेल हुने भएको छ । पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिप अन्तर्गत आज (शुक्रबार) भएको समूह चरणको अन्तिम खेल पाँचौँ सेटमा पुगेपछि गण्डकी र पर्वत दुवैले फाइनलमा स्थान बनाएका हुन् ।

पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २२–२५ ले गुमाउन पुग्यो । पुनः तेस्रो सेटमा २५–२२ ले जित निकालेको गण्डकीले चौथो सेट २३–२५ ले पर्वतलाई सुम्पिँदा खेल पाँचौँ सेटमा पुगेको थियो । पाँचौँ सेटमा १५–१३ को जित निकाल्दै गण्डकीले २ अंक प्राप्त गर्यो । पाँचौँ सेटमा पराजित पर्वतले एक अंक पायो । गण्डकी ५ खेलबाट ११ अंक र पर्वत १० अंक सहित पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । समान १० अंक रहेको नेपाल पुलिस क्लब सेटका आधारमा पर्वतभन्दा पछि रहँदै अंक तालिकाको तेस्रो स्थानमा रह्यो । त्रिभुवन आर्मी क्लब चौथो, सशस्त्र प्रहरी बल एपीएफ पाँचौँ र माल्दिभ्स भलिबल एसोसियसन छैटौँ स्थानमा रहेको हो ।
गण्डकी र पर्वतबिचको फाइनल खेल शनिबार दिउँसो २ः०० बजे पछि सुरु हुने आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले बताउनुभयो । त्यसभन्दा अघि तेस्रो स्थानका लागि खेल हुनेछ । तेस्रो स्थानका लागि अंक तालिकाको तेस्रो स्थानमा रहेको पुलिस र चौथो स्थानमा रहेको आर्मीबिच खेल हुने खेल संयोजक कुमार गुरुङले बताउनुभयो । खेल बिहान ११ बजेबाट सुरु हुनेछ ।
च्याम्पियनसिपमा विजेता हुने टोलीले ६ लाख ६६ हजार ६ सय ६६, उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६ सय ६६ र तेस्रो हुने टोली २ लाख ६ हजार ६ सय ६६ रुपैयाँ पाउनेछन् ।
यसअघि आज भएको महिलातर्फका फाइनलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमन्ड स्पोट्स क्लबले उपाधि जितेको छ ।






प्रतिक्रिया राख्नुहोस्