जिल्ला स्तरीय अन्तर विद्यालय जुनियर फुटबल : फाइनलमा ठोरी एकेडेमी र मुनलाइट
वीरगञ्ज । पर्सा जिल्ला स्तरीय प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय जुनियर फुटबल प्रतियोगिताको फाइनलमा ठोरी एकेडेमी र मुनलाइट माध्यमिक विद्यालय प्रवेश गरेका छन् ।

प्याब्सन पर्साको आयोजनामा भइरहेको प्रतियोगिताको आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा मुनलाइट मावि र एसआर ग्यालेक्सीबिच भएको खेल निकै प्रतिस्पर्धात्मक रह्यो । दोस्रो हाफमा एसआर ग्यालेक्सीका खेलाडीले डिबक्सभित्र हातले बल छोएपछि मुनलाइटले पाएको पेनाल्टी नै खेलको पहिलो र अन्तिम गोल बन्यो । सो गोलसँगै मुनलाइट मावि फाइनलमा प्रवेश गर्न सफल भयो । यस खेलका उत्कृष्ट खेलाडी मुनलाइटका दिब्यांशु पण्डित घोषित भएका छन् ।
त्यसैगरी आजै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा ठोरी एकेडेमी र बिकन माविबिचको खेल निर्धारित समयसम्म गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुट आउटमा पुगेको थियो । पेनाल्टी सुट आउटमा ठोरी एकेडेमीले ३–२ गोलले बिकन माविलाई पराजित गर्दै फाइनलको यात्रा तय गर्यो । यस खेलका उत्कृष्ट खेलाडी ठोरी एकेडेमीका आशिष खड्का घोषित भएका छन् ।
माघ १७ गते मुनलाइट मावि र ठोरी एकेडेमी बिच उपाधिका लागी भिड्ने भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्