इलामका मतदान केन्द्रहरूको जिल्ला सुरक्षा समितिद्वारा स्थलगत निरीक्षण सुरु
इलाम। इलामस्थित जिल्ला सुरक्षा समितिले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै जिल्लाभर तोकिएका मतदान केन्द्रहरूको स्थलगत अध्ययन तथा निरीक्षण सुरु गरेको छ ।

जिल्ला सुरक्षा समिति प्रमुख तथा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको नेतृत्वमा आज नेपाल प्रहरीका प्रमुख प्रहरी उपरीक्षक कुलदीप चन्दसहितको सुरक्षा समितिको टोलीले मतदान केन्द्रहरूको अवस्था बुझ्न स्थलगत अनुगमन थालेको हो ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार टोलीले पहिलो चरणमा जिल्लाको पश्चिम क्षेत्रका मतदान केन्द्रहरूको अध्ययन गरेको छ । उक्त क्रममा इलाम निर्वाचन क्षेत्र–२ अन्तर्गत पर्ने जनकल्याण माध्यमिक विद्यालय, जनशक्ति माध्यमिक विद्यालय, राष्ट्रिय माध्यमिक विद्यालय, ज्यायबिन्दु माध्यमिक विद्यालय, फलाटे माध्यमिक विद्यालयलगायतका स्थानमा रहेका मतदान केन्द्रहरूको भौतिक अवस्था, पहुँच मार्ग, सुरक्षा संवेदनशीलता र आवश्यक पूर्वाधारको अवस्थाबारे जानकारी लिएको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले आजै इलाम निर्वाचन क्षेत्र–१ अन्तर्गत पर्ने माइजोमाई गाउँपालिकाभित्र रहेका मतदान केन्द्रहरूको पनि स्थलगत निरीक्षण गरिने जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित बनाउन आवश्यक तयारीहरू तीव्र पारिएको छ ।
हाल निर्वाचनका लागि आवश्यक जनशक्तिको नामावली व्यवस्थापन तथा अस्थायी मतदाता नामावली सङ्कलन कार्य भइरहेको छ । सूर्योदय, चुलाचुली र माई नगरपालिकाबाट अस्थायी मतदाताको नामावली आउन बाँकी रहेको पनि उहाँले बताउनुभयो ।
आगामी निर्वाचनका लागि इलाम जिल्लामा कुल दुई लाख ३१ हजार ८०९ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । यसपटक जिल्लाभर १५० वटा मतदान स्थल र २९० वटा मतदान केन्द्र तोकिएको छ । गएको निर्वाचनको तुलनामा यसपटक पाँच वटा मतदान केन्द्र थप गरिएको निर्वाचन कार्यालयका प्रमुख देविचरण फुएँलले जानकारी दिनुभयो ।
फुएँलका अनुसार सूर्योदय नगरपालिका–१२ स्थित करफोक माध्यमिक विद्यालयमा एक, इलाम नगरपालिका–८ स्थित विद्या सिर्जनात्मक माध्यमिक विद्यालयमा एक, चुलाचुली–२ स्थित जनता माध्यमिक विद्यालयमा एक, देउमाई नगरपालिकाको डम्बरदेवी माध्यमिक विद्यालयमा एक तथा माइजोगमाई गाउँपालिका–५ स्थित सिरिसे माध्यमिक विद्यालयमा एक गरी पाँच वटा नयाँ मतदान केन्द्र थप गरिएको हो ।
जिल्ला सुरक्षा समितिले आगामी दिनहरूमा पनि जिल्लाका अन्य क्षेत्रका मतदान केन्द्रहरूको निरीक्षणलाई निरन्तरता दिँदै सुरक्षा योजना तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्