नारदमुनी गोल्डकप ः उद्घाटन खेलबाटै आयोजक बसाहा बाहिरियो

उदयपुर। आयोजक बसाहा क्लब ११औँ संस्करणको नारदमुनी स्मृति गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहाको नारद आदर्श रङ्गशालामा बिहीबार उद्घाटन खेलमा द योङ ब्रदर क्लब इटहरी सुनसरी सँग १–० ले स्तब्ध हुँदै पहिलो खेलमै सीमित भएको हो ।
द योङ ब्रदर क्लबको जितमा एक मात्र निर्णायक गोल विदेशी खेलाडी फोफोनाले गरेका थिए । खेलको सत्ताईसौँ मिनेटमा फोफोनाले द योङ ब्रदर क्लबलाई १–० को अग्रता दिलाएका थिए । खेलमा थप गोल नहुँदा फोफोनाकै गोल निर्णायक बन्यो ।
खेलमा म्यान अफ दी म्याच फोफोना भए। खेलमा फोफोनाले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टोलीका लागि निर्णय गोल गरेका थिए । यो जितसँगै द योङ ब्रदर क्लब प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
प्रतियोगिता अन्तर्गत शुक्रवार साल्हेश युवा क्लब सिराहाले दमक फुटबल एकेडेमी झापाको सामना गर्नेछ ।
प्रतियोगिताको बिहीबार चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा, बेलका नगरपालिकाका मेयर अशोक कार्की र कटारी नगरपालिकाका मेयर राजेन्द्रचन्द्र श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो।








प्रतिक्रिया राख्नुहोस्